सहकारी प्रशिक्षालय भरतपुर परिसरमा बोराका बोरा मदिराका बोतल

‘सरकारी कर्मचारीले रक्सी खाएर अर्काको परिसरमा बोतल फाल्छन् । कहिलेसम्म सहने ?’

प्रकाश सिग्देल

बुधबार, ०८ जेठ २०७६, १५ : ३७
सहकारी प्रशिक्षालय भरतपुर परिसरमा बोराका बोरा मदिराका बोतल

चितवन । प्रदेश सरकार प्रदेश नम्बर ३ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी प्रशिक्षालय चितवनको परिसरमा मदिराका खाली बोतल दिनहुँजसो फालिने गरेका छन् । 
आफ्नो कार्यालयको दायाँबायाँ रहेका छिमेकीहरु, जिल्ला प्रहरी कार्यालय चितवन र कृषि ज्ञान केन्द्रको छेउ पर्ने कार्यालयको परिसरमा खाली मदिराका बोतल फालेर आफू हैरानमा परेको कार्यालयका प्रमुख टोलप्रसाद शर्माले बताउनुु भयो । ‘कहिल्यै रक्सी नछोएको मैले अहिले अर्काले खाएको रक्सीकोे खाली बोतल बटुल्नु पर्ने अवस्था भयो’ उहाँले भन्नुभयो, ‘सरकारी कर्मचारीले रक्सी खाएर अर्काको परिसरमा बोतल फाल्छन् । कहिलेसम्म सहने ?’ 
आफू कार्यालय आएको छोटो अवधिमा मात्रै आफूले दुई छिमेकीको सीमा क्षेत्रबाट तीन बोरा मदिराका बोतल संकलन गरी बोरामा हालेर राखेको शर्मा बताउनु हुन्छ । दायाँबायाँका छिमेकीले मदिराका बोतल फाल्ने, अगाडिका छिमेकीले अस्पतालजन्य र अरु फोहोर गेटै अगाडि फालिदिने गर्दा सबैतिरबाट आफ्नो कार्यालय चेपुवामा परेको भन्दै शर्माले दुःखेसो गर्नुभयो ।
सहमतिबिना नै आफ्नो कार्यालय परिसरमा रहेका भवनमा भरतपुर महानगरका केही इकाई बसेको र त्यो भवन संरक्षण गर्नुको साटो आफ्ना कार्यालयको फर्निचर अस्तब्यस्त रुपमा फाल्ने गरेको उहाँको भनाई छ । भवन संरक्षणमा कुनै ध्यान नदिई मनलाग्दी गरेको र आफ्ना कर्मचारी बसिरहको क्वार्टर समेत खाली गर्न लगाएर महानगरका एक अधिकृतले फ्ल्याट नै लिएर बसी आफ्नो कार्यालयको सम्पति दुरुपयोग गरेको शर्माको भनाई छ । 
महानगरले त्यहाँ सामाजिक विकास महाशाखा, शैक्षिक प्रशासन महाशाखा र आर्थिक विकास महाशाखा संचालन गरेको छ । रातबिरात महानगरका कर्मचारी आउने, गेट जतिबेला पनि खुल्ला गर्नु पर्ने, कार्यालयमा पसेपछि गेट पनि बन्द नगरी क्वार्टरमा जाने लगायतका धेरै समस्या भएको र गेट सधैं खुल्ला हुँदा भैंसी छिरेर त्यहाँका फूल तथा बिरुवा नष्ट गरेको शर्मा बताउनु हुन्छ । ‘जतिबेला पनि गेट खुल्ला हँुदा कार्यालयमा चोर पसेर त्यहाँको सम्पति चोरी गरे वा तोडफोड गरे त्यसको कसले जिम्मा लिने ?’ शर्मा प्रश्न गर्नु हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस