सिद्दार्थ कटेजमा सञ्चारमन्त्रीको गुट भेला

सफल खबर संवाददाता

सोमबार, ०६ जेठ २०७६, ०७ : ५४
सिद्दार्थ कटेजमा सञ्चारमन्त्रीको गुट भेला

काठमाडौं । नेकपामा शीर्ष नेताकामात्र होइन, शीर्ष नेताका फेरो समाएका साना तिना नेताका पनि आ–आफ्नै अनगिन्ती गुट छन् । जिल्लाको राजनीतिलाई केन्द्र बनाउँदै कतिपय नेताहरुले गुट चलाउँदै आएका छन् ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले आइतबार त्यस्तै गुटको भेला गरेका छन् । राजधानीको तिनकुनेमा रहेको सिद्दार्थ कटेजमा उनले आफु निकट गुट भेला गरेका हुन् । तीन प्रदेशले जिल्लाको एकीकरण टुंग्याउने तयारी आइतबारको बैठकबाट गर्ने तयारी गरेपछि त्यसलाई पूर्णता हुन नदिन सञ्चारमन्त्री बास्कोटाले गुट भेला गरेका थिए ।

बिहान ८ बजेदेखि दुई घण्टा उनले गुट भेला गरेका हुन् । काभ्रेका जिल्ला नेताहरुलाई चिया खान आउनुस्भन्दै सञ्चारमन्त्रीले आफू निकट नेताहरुलाई गुट भेलामा बोलाएका थिए ।

रोचक पक्ष त यो थियो की सञ्चारमन्त्रीको गुट भेलामा तत्कालिन एमालेका भन्दा माओवादीका नेताहरु बढी सहभागी थिए । केपी ओली निकट नेता बास्कोटा नेकपाका केन्द्रीय सदस्य हुन् ।

उनले बोलाएको गुट भेलामा काभ्रे १ वाट प्रतिनिधीसभामा चुनाव जितेका सांसद गंगावहादुर दोङ (बमध्वज), चौरी देउराली गाउपालिका अध्यक्ष दिनानाथ गौतम, देवलाल घिसिङ, रिता ढकाल, इन्द्र तामाङ लगायतको उपस्थिती थियो ।

काभ्रेमा पार्टी एकीकरणपछि रुकु चौलागाई अध्यक्ष र टोकबहादुर वाइवा सचिव छन् । चौलागाई पूर्वमाओवादी नेतृ हुन् भने वाइवा एमाले । वाइवा नेकपा बरिष्ठ नेता माधव नेपाल निकट नेता हुन् ।

काभ्रेमा नेकपाको १४५ सदस्यीय जिल्ला कमिटि बन्छ । त्यसमा पूर्वएमालेलाई ७८ र माओवादीलाई ६७ जना रहने गरी भागबन्डा भएको थियो । तर तत्कालिन एमाले भित्र बास्कोटाले आफ्नो गुटको अध्यक्ष र सचिव नरहेको, जिल्ला कमिटिमा पनि आफ्नो पक्षका भन्दा बरिष्ठ नेता नेपाल पक्षको बढी सदस्यले स्थान पाउने देखेपछि बास्कोटाले एकता रोक्न गुट भेला बोलाएका थिए ।

भेलामा सहभागी चौरी देउराली गाउपालिका अध्यक्ष दिनानाथ गौतमले भेलाको विषयमा अहिले आफुले केही नवोल्ने बताए । ‘म यस विषयमा अहिल्यै केही बोल्दिन,’  गौतमले सफलखबरसँग भने ।

सञ्चारमन्त्री बास्कोटालाई पनि यस विषयमा कुरा गर्न खोजे पनि उनी सम्र्पकमै आउन चाहेनन् । मन्त्री बास्कोटाले सिद्दार्थ कटेजेको भेलापछि प्रदेश ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई टेलिफोन गरी काभ्रेको एकता टुंग्याई नहाल्न निर्देशन गरेका थिए ।

प्रदेश बैठकमा आफूपक्षिय नेताहरु सहभागी नहुनेभन्दै उनले भागवन्डामा आफूलाई चित्त नबुझेको र आफूसँग परामर्श पनि राम्रोसँग हुन नपाएकोले अहिले नै जिल्ला कमिटि पूर्णता दिने विषयमा आफ्नो सहमति नहुने बास्कोटाले इन्चार्ज शाक्यलाई बताएपछि जिल्ला कमिटि पूर्णता काभ्रेमा रोकिएको छ ।

प्रदेश कमिटिले दुवै पक्षका जिल्ला कमिटिमा प्रस्तावित सदस्यहरुलाई उपस्थित हुन र त्यहीँबाट जिल्ला कमिटि चयन गर्नेभन्दै ११ जेठलाई काभ्रे जिल्लाको विस्तारित बैठक आह्रवान गरेको छ ।

‘अब जेठ ११ मा बैठक बोलाईएको छ, त्यही बैठकवाट जिल्ला कमिटिले पूर्णता पाउँछ,’  जिल्ला अध्यक्ष रुकु चौलागाईले बताइन् । नेकपा प्रदेश ३ कमिटिले प्रदेश अन्तर्गतका १३ मध्ये १० जिल्लाको एकता भने आइतबारको बैठकवाट टुंग्याएको छ । काभ्रेसहित चितवन र ललितपुरको एकता पनि बाँकी छ । 

प्रतिक्रिया दिनुहोस