प्रधानमन्त्री ओली अकस्मात चितवनमा अवतरण

सफल खबर संवाददाता

शुक्रबार, ०३ जेठ २०७६, १९ : ०५
प्रधानमन्त्री ओली अकस्मात चितवनमा अवतरण

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अकस्मात चितवनमा अवतरण गर्नु परेको छ । लुम्बिनी जानका लागि प्रधानमन्त्रीसहितको टोली बोकेर काठमाडौंबाट उडेको हेलिकप्टर मौसम खराब भएपछि भरतपुर ब्यारेकमा अवतरण भएको हो । 

लुम्बिनीमा शनिबार हुने बुद्ध जयन्ती सम्बन्धी कार्यक्रमका लागि प्रधानमन्त्री त्यसतर्फ जान लाग्नु भएको थियो । प्रधानमन्त्रीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव विष्णु पौडेल पनि रहनु भएको थियो । प्रधानमन्त्री ओली आधा घण्टा चितवनमा रही चिया पिउनुका साथै समसामायीक विषयमा छलफल गर्नुभएको थियो । 

मौसम खराब भएपछि केही समय भरतपुर ब्यारेकमा रोकिनु भएका प्रधानमन्त्री मौसममा सुधार आएपछि पुनः हेलिकप्टरमार्फत् लुम्बिनी जानु भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले भरतपुरको हरियाली र घरका निलो जस्ताका छानाले आफूलाई रमणीय बनाएको भन्दै भरतपुरको विकासमा आफ्नो सहानुभुति रहने बताउनु भएको थियो । प्रमुख दाहालले भरतपुर महानगरपालिकाले गरिरहेका विकास निर्माणका कामहरु र महानगरीय गौरवका आयोजनाहरुका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।भेटघाटमा प्रमुख जिल्ला अधिकारी बस्नेतलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस