गोरखा । भीमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा असन्तुष्ट पक्षहरूले गाउँपालिकाको कार्यालयमा लगाएको ताला आइतबार खोलिएको छ । एकलौटी रुपमा केन्द्र सार्ने निर्णय गरिएको भन्दै लगाइएको ताला जिल्ला प्रसाशन कार्यालयको पहलमा भएको छलफलमा दुवैपक्षबीच ३ बुँदे सहमति भएपश्चात खोलिएको हो ।
छलफलमा संर्घष समितिले गाँउपालिकामा लागेको ताला खोलि सेवा प्रवाह नियमित गर्ने, आगामी फाल्गुन १ गतेसम्म साबिककै गाउँपालिका कार्यालयबाट गाउँपालिकाको कामकाज गर्ने सहमति भएको छ ।
त्यस्तै २ गतेदेखि मसेल घ्याम्पेसालबाट सेवा प्रवाह गर्ने र फाल्गुन १ गते सम्म जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुखहरूको बैठक बसि आपसी समझदारी कायम गर्ने सहमति भएको छ ।
गाउँपालिकाको केन्द्र सार्ने विवाद बढ्दै गएपछि गएको पुस २० गते देखि गाँउपालिकाको कार्यालयमा ताला लगाइएको थियो ।
कार्यालयमा तालबन्दी भएसँगै भिमसेन गाउँपालिकाका सबै कामकाज ठप्प हुँदै आएको थियो । नेपाली काँग्रेसको बहुमत रहेको भिमसेन गाउँपालिकामा अध्यक्ष ईश्वर पाण्डेले बहुमतले गाँउपालिकाको केन्द्र सार्ने निर्णय गरे पछि माओवादी केन्द्र सहितका पार्टीहरूले केन्द्र बगुवामा नै हुनु पर्ने माग गर्दै आएका थिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहित जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, भिमसेन गाउँपालिका अध्यक्ष एव गाउँकार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।
यसैबीच ताला खोलिएसँगै भिमसेन गाउँपालिकाको बगुवामा कार्यक्रम भएको छ । माओवादी केन्द्रको अगुवाइमा भएको कार्यक्रममा गाउँपालिकाको केन्द्र सार्ने विषय प्राविधिक भएको भन्दै समग्र गाउँपालिकाको विकास र समृद्धिका लागि त्यहाँ क्रियाशिल दलहरूबीच सहमती नभएसम्म वैचारिक संर्घष जारी राख्ने नेताहरूले बताएका छन् ।
उक्त गाउँपलिकाको केन्द्र घ्याम्पेसालमा राख्ने र नाम परिर्वतन गरि भिमसेन थापा गाउँपालिका बनाउने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरी राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस