बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु

शनिबार, २८ बैशाख २०७६, १८ : ५०
बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु

घाज्नी । दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् । 
राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा उक्त बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रान्तीय प्रवक्ता आरिफ नूरीले सडक किनारामा बालबालिका खेल्दै गरेको अवस्थामा बारुदी सुरुङ बिस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।
सरकारी सुरक्षाकर्मीलाई लक्षित गरी विद्रोही तालिबानी समूहले सडक किनारामा विद्युतीय धराप राखेको उहाँले बताउनुभयो । तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
अफगान सुरक्षाफौजलाई लक्षित गरी तालिबान समूहले सडक किनारामा बम राख्ने गरेका छन् । यी बेबारिसे बमले सर्बसाधारणको ज्यान लिने गरेका छन् ।
घाज्नी प्रान्तीय परिषदका एक सदस्य अमानुल्लाह कामरानीले मारिएका बालबालिकाहरु ७ देखि ९ वर्षका रहेको जानकारी दिनुभयो । एकै परिवारका चार जना बालबालिकाको मृत्यु भएको थियो ।
अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत महिना मोर्टार बिस्फोट हुँदा सात जना बालिकाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । 
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१८ मा गृहयुद्धका कारण अफगानिस्तानमा ९०० भन्दा बढी बालबालिकाको ज्यान गएको थियो । (रासस-एएफपी) 
 

प्रतिक्रिया दिनुहोस