बनियानी । झापाको भद्रपुर नगरपालिकामा पहिलोपटक शरीर दान गर्ने उदयदेव शर्मा आचार्यको शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई आज हस्तान्तरण गरिएको छ ।
भद्रपुर–१० स्थित चन्द्रगढी निवासी ६९ वर्षीय आचार्यको निधनपछि उहाँको अन्तिम इच्छाअनुसार दाहसंस्कार नगरी प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो । आचार्यको आज बिहान ४.३० बजे हृदयघातका कारण निधन भएको कान्छा छोरा राजकुमार आचार्यले जानकारी दिनुभयो ।
आचार्यले विसं २०६५ मा आफ्नो शरीर प्रतिष्ठानलाई दान गर्नुभएको थियो । विसं २००७ असोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिनुभएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुनुहुन्छ । उहाँ वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी सङ्गठन झापाका सदस्य, बाह्मण समाज झापाका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ–संस्थामा आवद्ध रहनुभएको थियो ।
आचार्यले सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारविरूद्ध जागरण अभियान समेत चलाउँदै आउनुभएको थियो । आचार्यका दुई श्रीमती, तीन जना छोरा र एक छोरी रहेका छन् । आचार्यको शवको अन्त्येष्टि नगरिए पनि धार्मिक विधि–परम्पराअनुसार काज–किरिया गरिने कान्छा छोरा राजकुमारले बताउनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस