चितवन । गणेशधामको पूण्यवती ताल निर्माणको लागि शिलान्यास गरिएको छ । आज (बुधबार) प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले तालको शिलान्यास गरे ।
प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँको लागतमा ताल निर्माण सुरु गरिएको हो । प्रदेश सरकारले गणेशधाममा तलाउ निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पहिलो चरणमा ५० लाख रुपैयाँ र दोस्रो चरणमा ३० लाख रुपैयाँको काम गरिनेछ ।
सो अवसरमा बोल्दै प्रदेश सांसद सुवेदीले गणेशधाम निर्माण गर्ने अभियानको सुरुआत भएको बताए । उनले यो अभियानमा सबै सहभागी हुनुपर्ने धारणा राखे । ‘महायज्ञ सञ्चालन गर्दादेखि नै गणेशधाम निर्माणका लागि नागरिकको उत्साह देखिएको छ’ उनले भने, –‘धाम निर्माणको चरणमा पनि नागरिकको साथ यसरी नै रहिरहनेछ ।’ उनले सबैको साथ र सहकार्यबाट मात्रै गणेशधाम निर्माण सम्पन्न हुने भएकाले आ–आफ्नो भूमिका अनुसार सहयोग गर्न आग्रह गरे ।
श्रम, सीप र साधनको संयोजनबाट मात्रै विकास सम्भव रहेको उनको तर्क छ । उनले एक वर्षभित्र गणेशधामको मुहार फेरिने दाबी गरे । भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष बाबुुराम अधिकारीले कुरा कम र काम धेरै गर्ने समय आएको बताए । उनले तीव्रताका साथ ताल निर्माणको काम गर्न र गुणस्तरमा ध्यान दिन ताल निर्माण उपभोक्ता समितिलाई आग्रह गरे ।
जनप्रतिनिधिको क्रियाशीलताका कारण गणेशधाम निर्माणको थालनी भएको नवजागृती सामुदायिक वनका अध्यक्ष पुस्तक गौतमले बताए । उनले निर्माणको चरणमा आइपर्ने समस्या समाधानका लागि सामुदायिक वनको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गणेशधामा क्षेत्र संरक्षण सम्बद्र्धन समितका अध्यक्ष दिनेशकुुमार चुकेले तालको डीपीआर अन्तिम चरणमा पुगेको बताए । उनले छिट्टै मन्दिर क्षेत्रको पनि निर्माण सुरु गरिने जानकारी दिए ।
पहिलो चरणमा ताल सम्म्याउने तथा तटबन्धनको काम गरिने पूण्यवती ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र बरालले जानकारी दिए । उनले तोकिएकै समयमा ताल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडाका राजनीतिक दलका प्रतिनिधिहरुले गणेशधाम निर्माणमा एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।
डिभिजन वन कार्यालय भरतपुरबाट ताल निर्माणका लागि स्वीकृत प्राप्त भएपछि ताल निर्माण सुरु गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला र स्थानीयको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस