भरतपुर बाइपास रोड निर्माण सुस्त

मंगलबार, २४ बैशाख २०७६, १९ : ०६
भरतपुर बाइपास रोड निर्माण सुस्त

चितवन । चितवनको भरतपुर बाइपास रोड निर्माण सुस्त गतिमा अघि बढेको छ । समयमा विद्युत्का पोल नसर्नु, सडक खण्डमा पर्ने रुख कटानी नभएकाले निर्माण अघि बढ्न नसकेको हो ।

विसं २०७३ पुस १९ गते केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको बाटो दुई लेनका लागि काठमाडौँको गौरी पार्वती निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको थियो । तर, सडक विस्तारकै क्रममा यहाँको सवारीको चाप वृद्धि भएपछि चार लेन बनाउने निर्णय भएको हो ।

दुई लेनलाई चार लाने बनाउनुपर्ने भएपछि सो कम्पनीले केन्द्रीय बस टर्मिनल चोकलाई शून्य मानेर एक हजार ७०० मिटरमात्र सडक निर्माण गर्ने जिम्मा पाएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर गीताञ्जली कोइरालाले बताउनुभयो । “चार लेनको स्वीकृतिका लागि सडक विभागमा प्रस्ताव पेश गरेका छौँ”, उहाँले भन्नुभयो, “फाइल स्वीकृत नभएरभन्दा पनि विद्युत्का पोल र रुख काट्न ढिला भएकाले कामले गति लिन नसकेको हो ।”

सडकखण्डमा पर्ने विद्युत्का पोल सार्न विद्युत् प्राधिकरण भरतपुरले रु ७० लाख र रुख कटानी गर्न डिभिजन वन कार्यालयले रु पाँच लाख भुक्तानी लिइसकेको इञ्जिनीयर कोइरालाले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको मसान्तसम्ममा काम सक्ने गरी म्याद एक हजार ७०० मिटर सडकलाई थप गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त सडक निर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु १३ करोड ४५ लाख ८२ हजार ७९१ मा ठेक्का सम्झौता भएको थियो ।

भरतपुरस्थित केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको चार दशमलव चार किलोमिटर सडकलाई आधुनिक डिजाइनमा सवारी चापअनुसार निर्माण गर्ने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । बाँकी दुई हजार ७०० मिटर सडकको काम भने अर्को आवमा गर्ने योजना रहेको छ । योजनाअनुसारको बाटो निर्माण भएपछि बाटोको आकर्षण नै फरक हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले सवारी दुर्घटनालाई समेत कम गर्छ र सडकको आकर्षण पनि फरक हुन्छ ।” सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुने र १४ मिटर पिच हुनेछ । 

दुई वर्षदेखि निर्माण भइरहेको सो सडकखण्डमा सवारी चाप बढी हुने भएकाले प्रत्येक महीना एक जनाको मृत्यु हुने गरेको छ । सडकलाई फराकिलो बनाउने क्रममा सडकका छेउका भाग चोइटिएर गएपछि दुर्घटनाको थप जोखिम बढेको छ । सडकको स्तरोन्नति भइरहेकाले तीन वर्षदेखि यसको मर्मत पनि हुन सकेको छैन । (रासस) 

प्रतिक्रिया दिनुहोस