लामो समयदेखि उद्योग वाणिज्य संघ चितवनको आर्थिक प्रतिवेदन पास भएन

आइतबार, २२ बैशाख २०७६, १६ : ०८
लामो समयदेखि उद्योग वाणिज्य संघ चितवनको आर्थिक प्रतिवेदन पास भएन

चितवन । वार्षिक बजेटभन्दा ७० प्रतिशत बढी खर्च भएपछि उद्योग वाणिज्य संघ चितवनको आर्थिक प्रतिवेदन लामो समयदेखि पास हुन सकेको छैन । गत मंसिर १७ गते संघको ५२ औँ साधारण सभा कै दिनमा पास हुनुपर्ने प्रतिवेदन विभिन्न समस्या देखाउदै ५ महिना बिलम्ब भएको छ । संघले अघिल्लो आर्थिक वर्षका लागि ९४ लाख बजेट प्रस्तुत गरेको थियो । तर, संघले १ करोड ६८ लाख रुपैयाँ खर्च गरेरपछि प्रतिवेदन पास गर्न ढिलाई भएको हो । सघंले पारित बजेटभन्दा २५ प्रतिशत बढी खर्च भएपछि पूरक बजेट ल्याउनु पर्ने हुन्थ्यो । नीतिको ख्यालनै नगरी सहनलाल प्रधान नेतृत्वको कार्यसमितिले ७७ प्रतिशतबढी खर्च भएकाले यस्तो समस्या आएको जानकारहरु बताउँछन् । 
यतिबेला प्रतिवेदन पास गर्न उद्योग वाणिज्य संघद्वारा गठित लेखा छानबिन समितिले त्रुटी पत्ता लगाउने र छानबिन गर्ने काम गरिरहेको छ ।
छानबिन समितिले निकालेको त्रुटीमा संघको आधिकारिक समितिले प्रमाणित गर्न सके प्रतिवेदन पास हुन सक्छ होइन भने, विषेश साधारण सभा बोलाउनु पर्ने अवस्था आएको उद्योग वाणिज्य संघका एक सदस्यले बताए । 
यो समस्या आउनुमा चितवन महोत्सवबाट अपेक्षाभन्दा बढी आम्दानी रहेको जानकारहरु बताउँछन् । उद्योग वाणिज्य संघ चितवनको मूख्य आम्दनीको स्रोत चितवन महोत्सव प्रत्येक दुई वर्षको बीचमा महोत्सव आयोजना गर्दैै आइरहेको छ । यही महोत्सवबाट भएको आम्दानीले २ वर्षसम्म संघले आफ्ना प्रशासनिक तथा संगठन सुदृढीकरणमा खर्च गर्ने गरको छ ।
अघिल्लो चितवन महोत्सवहरुको आम्दानीको ६० प्रतिशत नारायणी नदी संरक्षण समितिको बैँक खाता र बाँकी ४० प्रतिशत उद्योग वाणिज्य संघको खातामा आउने गरेको थियो ।
तर, नारायणी नदी संरक्षण समितिले सरकारबाट वैधानिकता नपाएकाले उद्योग वाणिज्य संघको बैँक खातामा शत प्रतिशत पैसा आएपछि खर्च बढी हुन पुगेको देखिन्छ, एक सदस्य भने ।  

उद्योग वाणिज्य संघबाट जिल्ला समन्वय समिति, भरतपुर महानगरपालिका, पत्रकार महासंघ चितवन लगायतका संघसंस्थालाई २३ लाख रुपौयाँ भुक्तानी भएकाले पनि खर्चमा वृद्धि हुन पुगेको जानकारहरु बताउँछन् ।

महोत्सवको आय व्याय सार्वजनिक भएन

हरेक दुई वर्षमा नारायणी किनारमा आयोजना हुने महोत्सवको आय व्याय लामो समयदेखि सार्वजनिक भएको छैन । माघमा महिनामा महोत्सव समापन भएको भएपनि बैशाखसम्म आय व्याय सार्वजनिक गरेको छैन । मेला महोत्सव सकिएको १५ दिनदेखि १ महिनासम्म  आय व्याय सार्वजनिक गर्नुपर्ने हुन्छ । महोत्सवमा पूर्व अध्यक्षको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको भएपनि यतिका समयसम्म समिति चुपचाप छ । यी नै गतिविधिले उद्योग वाणिज्य संघको कार्यशैलीप्रति प्रश्न चिन्ह् खडा भएको छ ।
 

प्रतिक्रिया दिनुहोस