भद्रपुर । झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसार्इंको मृत्यु भएको छ ।
मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसार्इं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई घटनाबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको थियो । मृतकका बुवा भानु प्रसार्इं मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी हुनुहुन्छ ।
समितिका अध्यक्ष मुकेश सुब्बाका अनुसार सामुदायिक वन क्षेत्रमा सीमसार विकास गर्न दुई पोखरी निर्माणाधीन अवस्थामा छन् । निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाएको भए पनि वन हेरालु खाना खान गएको बेला दुर्घटना भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस