इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

आइतबार, ०७ माघ २०७४, १५ : १७
इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा

बैतडी । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा इसिजी र भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति ९स्वास्थ्य बीमा० ले पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी र भिडियो एक्सरे यन्त्र उपलब्ध गराएपछि उक्त सेवा सञ्चालनमा आएको हो ।

ती सेवा पाटनमै सञ्चालनमा आएपछि बिरामीले बाहिर गएर उपचार गर्नुपर्ने समस्या हटेको केन्द्रका डा नवीन्द्र ढकालले बताए । उनले भने, “इसिजी र भिडियो एक्सरेकै लागि भारतीय बजार तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।”

स्वास्थ्य बीमा कार्यक्रमले जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत इसिजी, भिडियो एक्सरे र एक्सरे सेवा राखिएको छ । बैतडीमा विसं २०७३ पुस ७ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।

औषधि अभाव
पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा बिरामीलाई रित्तो हात फर्काउनुपरेको स्वास्थ्यकर्मीले बताएका छन् । उपचारका लागि आएका बिरामीलाई पर्याप्त मात्रामा औषधि नभएकाले जाँच गरेर औषधि पसलमा पठाउनुपर्ने समस्या भएको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लोकेन्द्र ऐरले बताए।

“दैनिक आउने ३०–४० बिरामीलाई औषधि नहुँदा समस्या भएको छ” उनले भने, “स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई रित्तो हात फर्काउनुपर्छ र औषधि अभाव छ भन्दा उल्टै रिसाउने गरेका छन् । ” स्वास्थ्य केन्द्रबाट निःशुल्क रुपमा स्वास्थ्य सेवा हुने भनिए पनि औषधि नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा भर्खरै गठन भएको स्वास्थ्य व्यवस्थापन समितिले पाटन नगरपालिकासँग औषधि अभावबारे जानकारी गराएकाले बोलपत्र आह्वान भएको र अब छिट्टै औषधि आउने बताइएको छ । पहिला औषधि अभाव भएका बारे जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गराउँदा समयमै औषधि आपूर्ति हुने भए पनि हाल स्थानीय तह भइसकेपछि समस्या भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस