आमा र भगवानमा केही फरक छैन : कोइराला

सूर्यप्रकाश कँडेल

शनिबार, २१ बैशाख २०७६, १७ : ५८
आमा र भगवानमा केही फरक छैन : कोइराला

मकवानपुर । प्रदेश नम्बर तीन प्रमुख अनुराधा कोइरालाले आमा र भगवानमा केही फरक नभएको बताउनु भएको छ । आमा घर सेवा आश्रमले शनिबार मनहरी गाउँपालिका वडा नम्बर आठमा आयोजना गरेको आमा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘गर्भमा रहँदा नौ महिनासम्म आमालाई लात हान्छौं हामीले’ आमालाई भगवानको दर्जा दिँदै उहाँले भन्नुभयो, ‘जन्मेपछि पनि सबैभन्दा बढी दुःख आमालाई नै दिन्छौं । यति हुँदा पनि सन्तानप्रति कुनै गुनासो नगर्ने आमा भगवान हुन् जस्तै लाग्छ मलाई ।’ आमाहरुको सम्मानभन्दा ठूलो काम केही नभएको बताउँदै उहाँले आमा घरलाई आमाहरुलाई आदर गर्ने ठाउँ बनाउन सुझाव दिनुभयो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राज दादीको अध्यक्षतामा सम्पन्न सम्मान समारोहलाई नायक निखिल उप्रेती, मिस नेपाल श्रृंखला खतिवडा, प्रदेश नम्बर तीनका सभामुख सानुकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्दै आमाको सेवा नै सर्वोत्तम सेवा भएको बताएका थिए । गीत, नृत्य र गीतिनाटक समेत प्रस्तुत भएको त्यस कार्यक्रममा एक सय आठ जना आमालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस