सरकारको नीति तथा कार्यक्रम: 'सुन्दा मिठो, रमाइलो र आशावान लागेपनि कार्यान्वयन हुने देखिन्न'

रासस

शुक्रबार, २० बैशाख २०७६, २१ : ०९
सरकारको नीति तथा कार्यक्रम: 'सुन्दा मिठो, रमाइलो र आशावान लागेपनि कार्यान्वयन हुने देखिन्न'

फाईल फोटो


काठमाडौँ । नयाँ शक्तिपार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कार्यान्वयन नहुने सपनाको पुलिन्दाको संज्ञा दिनुभएको छ ।

सङ्घीय संसद् भवनमा आज प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमको बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “सुन्दा मिठो, रमाइलो र आशावान लागेपनि व्यवहारमा कार्यान्वयन हुने देखिन्न ।” जनताको अपेक्षा पूरा हुने र कार्यक्रम राम्रोसँग कार्यान्वयन भई परिणाम सुखद् होला जस्तो आफूलाई नलागेको बताउँदै संयोजक भट्टराईले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण गर्ने तथा प्रशासन समयन्त्रमा आमूल सुधार गर्ने जस्ता कुरा ठोस् रुपमा आउनु पर्दथ्यो त्यो आएको छैन ।”

यद्यपि चार वर्षभित्र सबै स्थानीय तहमा कालेपत्रे सडक पु¥याउने, प्राविधिक विद्यालय स्थापना गर्न जस्ता सपना राम्रै भए पनि पूँजी परिचालन, राजश्व वृद्धि र उद्यमशिलता बढाउने पक्ष स्पष्ट नभएको प्रतिक्रिया उहाँले दिनुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कतिपय आयोजनालाई निरन्तरता दिनुपर्ने भएकाले नीति तथा कार्यक्रममा सबै नयाँ तथा सबै पुराना छोडेर आउने भन्ने होइन भन्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने भएकाले नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैन कि भनेर आशंका गरिरहन जरुरी छैन ।”

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले राख्नै नपर्ने ससना विषय वस्तु समेटिएको नीति तथा कार्यक्रममा पानी जहाज र रेलजस्ता कुरा अहिले नै कार्यान्वयन हुनै सक्दैन भन्नुभयो । राष्ट्रिय जनमोर्चा नेपालका नेतृ दुर्गा पौडेलले सरकारले घोषणा गरेको जति कार्यान्वयन हुने हो भन्ने बाँकी नै के रहला भन्दै विस्तृत अध्ययनपछि मात्र थप प्रतिक्रिया दिन उपयुक्त हुने बताउनुभयो । 

नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले देश र जनताको हितमा नरहेको नीति तथा कार्यक्रम पुरानैको निरन्तताका रुपमा आएको बताउनुभयो ।  नेकपाका संसद् रामनारायण विडारीले नीति तथा कार्यक्रम निकै वैज्ञानिक र प्रगतिशील रहेको हुँदा आम नागरिकमा अब नेपालमा केही हुन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको विचार प्रकट गर्नुभयो ।

राष्ट्रियसभाका नेपाली काङ्ग्रेसका सांसद बद्री पाण्डेले पुरानैको निरन्ततामा आएको नीति तथा कार्यक्रम वर्णनात्मक, विवरणात्मक र पट्यार लाग्दो रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस