चितवन । एउटै काम मिहेनतका साथ निरन्तर गरिरह्यो भने सफल भइन्छ भन्ने उदाहरण मकवानपुरको चुच्चे खोलाका एक खुवा व्यापारीले देखाएका छन् ।
विसं २०४० मा २० वर्षको उमेरदेखि खुवा बेच्दै आउनु भएका ५५ वर्षीय रघुनाथ तिमिल्सीनाले खुवाकै व्यापारबाट अहिले रु १० करोड बराबरको सम्पत्ति जोड्नुभएको छ ।
मकवानपुर उपमहानगरपालिका–१७ चुच्चे खोलामा ३६ वर्षअघि एउटा चियादानी र चारवटा गिलासबाट व्यवसाय शुरु गर्नुभएका उहाँले दोस्रो वर्षदेखि दूधको खुवा घोट्न शुरु गर्नुभयो । रघुनाथले भन्नुभयो, “म काभ्रेको ढुङखर्कबाट रु चार सय बाटो खर्च बोकेर यहाँ आएको हूँ ।” मकवानपुरको पहाडी क्षेत्रका १४ गाविसका मानिस हिँडेर र घोडा चढेर त्यहाँ आउने खाजा खाने गर्छन्, शुरुमा तीनैलाई खाजा खुवाउँदै गर्दा एक किलो, आधा किलो खुवा बिक्ने गरेको उहाँले बताउनुभयो ।
खुवाको प्रचार हुँदै जाँदा अहिले राजधानी काठमाडौँ, चितवन, कास्की, धनुषालगायत ठाउँमा खुवा पुग्ने गरेको जानकारी दिँदै रघुनाथले भन्नुभयो “अहिले त विदेशी पनि आउँछन्, सुदूरपश्चिम बाहेक देशैभरी हाम्रो खुवा पुगेको छ ।” दैनिक एक सय किलोसम्म खुवा बेच्ने गरेको बताउँदै उहाँले घरका सबै यही पेशामा होमिएको छन् भन्नुभयो ।
यही पेशाबाट कति कमाउनुभयो भन्ने प्रश्नमा रघुनाथले भन्नुभयो “बजारमा तीन वटा घडेरी र एक बिघा खेत किनेको छु । दुई छोराछोरी पढाएको छु यो सम्पत्ती जोड्न अहिले रु १० करोड चाहिन्छ ” गर्मी मौसममा आगोको राफसँगै कराइको दूध घोट्दा एक किलोमा रु एक सय हाराहारी बच्ने र दैनिक व्यापार एक नासको नभए पनि महीनामा रु एक लाख हाराहारी बचाउन सकिने बताउनुभयो । प्रतिकिलो रु पाँच सयमा खुवा बेच्दै आउनुभएका तिमिल्सिनाले गुदपाक र दूध पनि बेच्दै आउनुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस