इलाम । आज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना यता आन्दोलनमा छन् ।
सरकारी चिया बगान र कारखानाका श्रमिकले सरकारले तोके बमोजिमको ज्याला नदिएको भन्दै चिया श्रमिक आन्दोलनमा नै उत्रिएका हुन् ।
आन्दोलनलकै कारण श्रमिकले आज सामान्य तरिकाले मात्र दिवश मनाए । दिवसको अवसरमा चिया श्रमिकले सामान्य अन्तक्र्रिया कार्यक्रम मात्रै गरेका छन् ।
चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले ज्यालाको माग पूरा नभएपछि दिवसमा समेत ज्यालाकै बारेमा छलफल भएको बताए ।
‘खासै हर्षोल्लासका साथ दिवस मनाइएन । तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन’, रेग्मीले गएका वर्षका श्रमिक दिवसलाई सम्झदै भने, ‘हामी ¥याली तथा अन्य विभिन्न कार्यक्रम गरेर दिवस मनाउथ्यौँ तर यो वर्ष खास केही गरिएन ।’
सरकारले जारी गरेको ज्याला नपाएपछि काम नै छाडेर मजदूर आन्दोलनमा होमिएका हुन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनमै रहने चेतावनीसमेत दिइरहेका छन् ।
‘हामीले ज्यालाकै मुद्दालाई लिएर चिया दिवस पनि मनाएनौँ । किनकि हामीलाई श्रमिकका रूपमा हेरिएकै छैन । त्यसैले चिया दिवसको अवसरमा पनि विरोध ¥याली निकाल्यौँ’, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ इलामका अध्यक्ष रमेश खड्काले भने, ‘हामीले अरू माग राखेकै होइन । सरकारले तोकेको ज्याला पाउँ । त्यसपछि हामी काममा फर्कन्छौँ ।’
सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०८ सम्म मात्र पाउँदै आएका थिए ।
उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु ६ हजार ४६९ र मङ्गी भत्ता रु चार हजार ३८१ तोकिएको छ ।
यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ ।
अहिले इलामका सरकारी स्वामित्वका चिया बगान इलाम चिया बगान, चिलिमकोट चिया बगान, कन्याम चिया बगान र सोक्तिम चिया बगानका श्रमिक काम नै ठप्प पारेर आन्दोलनमा छन् भने झापाका टोकला चिया बगान, बर्ने चिया बगान र बाह्रदशी चिया बगानका श्रमिक पनि काम छाडेर हड्तालमा छन् । रासस
प्रतिक्रिया दिनुहोस