नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा

रासस

सोमबार, १६ बैशाख २०७६, २० : २६
नेपाली सेनाले पाए एक हजार ४५३ घर बनाउने जिम्मा

फाईल फोटो

 

काठमाडौं । पर्सा र बारा जिल्लामा हावाहुरीका कारण पूर्णरुपमा क्षति भएको एक हजार ४५३ वटा घर नेपाली सेनाले पुनर्निर्माण गर्ने भएको छ । गत चैत १७ गते साँझ आएको हावाहुरीका कारण बारा जिल्लाको उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका गरी आठ वटा इलाकामा ठूलो सङ्ख्यामा मानवीय तथा जनधनको क्षति गरेको थियो ।
    
हावाहुरीका कारण जिल्लाको ठेटा, तेलकुवा, त्रसैनी, भलुवाही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायत ठाउँमा घरहरु भत्कँदा २९ जनाको मृत्यु हुनाका साथै ६०० भन्दा बढी घाइतेको थियो । हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार यहाँ पुग्नुभएका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आगामी साउनभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाली सेनाले जिम्मेवारी पाएको र त्यसमा जनप्रतिनिधि, स्थानीय सङ्घसंस्था तथा व्यक्तिहरुबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

एक हजार ४५३ वटा घर निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार १४० विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नका लागि सबैको सहयोग रहने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले समयमा निर्माण सम्पन्न गरेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेसमेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँका जनताले प्राकृतिक विपत्तिको भार सहनु प¥यो, छिटोभन्दा छिटो त्यो पीडाबाट मुक्ति दिलाउन सरकारले यो निर्णय गरेको छ र निर्माण गर्ने जिम्मेवारीअनुसार कुनै पनि बाधा व्यवधान हुने छैन, काम सम्पन्न गर्नेछ ।

नेपाली सेनाका ७५० भन्दा बढी इञ्जिनीयर, प्राविधिकले यही वैशाख २१ गतेबाट औपचारिक रुपमा काम थालिने जानकारी दिँदै मन्त्री पोखरेलले जहाँ जस्तो अवस्थामा पनि तत्काल जनतालाई राहत दिने हिसाबले निर्माण कार्य हुनेछ भन्नुभयो । 

निरीक्षणका क्रममा सहभागी प्रधानसेनापति पूर्णचन्द्र थापाले यहाँ बनाइने घरको डिजाइन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको बताउँदै एउटा घरमा दुई वटा बस्ने कोठा, एक भान्छा कोठा र एक शौचालय रहने जानकारी दिनुभयो । उहाँले यहाँको वातावरणअनुसार ती घरहरुको निर्माण हुने विश्वास व्यक्त गर्दै आफूहरुले पाएको गहन जिम्मेवारी सफलतापूर्व निर्वाह गर्ने बताउनुभयो । 

पुनर्निर्माण कार्यका लागि विभिन्न १२ ठाउँबाट १२ समूह बनाई काम थालिने र त्यसमा दुई हजार ६०० भन्दा बढी नेपाली सेना संलग्न भएर काम सम्पन्न गर्ने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । आचारसंहितसमेत बनाएर पुनर्निर्माण कार्य गर्ने लक्ष्यका साथ नेपाली सेना अगाडि बढेको र आर्थिक नियमअनुसार सामान खरीद गरी समयमै निर्माण सम्पन्न उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस