झुठो विवरण बुझाएर छोराको नागरिकता बनाउन खोज्ने एक भारतीय पक्राउ

सोमबार, १६ बैशाख २०७६, १९ : २३
झुठो विवरण बुझाएर छोराको नागरिकता बनाउन खोज्ने एक भारतीय पक्राउ

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी  छोराको  नागरिकता बनाउन खोज्ने एक  भारतीय नागरिक पक्राउ परेका छन् ।  विस २०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सुदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । 
गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो । बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाँटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी पर्साका प्रमुख रेवती ढकालले बताउनु भयो ।
साह विरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो । अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख  ढकालले बताउनु भयो ।
पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको आधारमा नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भीड बढेको छ ।

प्रतिक्रिया दिनुहोस