उद्योग संघको दुई वर्षे कार्ययोजनामा प्रदर्शनी केन्द्रलाई पूर्णतादेखि प्राविधिक शिक्षालयसम्मका कुरा

शनिबार, ०६ माघ २०७४, १७ : ४१
उद्योग संघको दुई वर्षे कार्ययोजनामा प्रदर्शनी केन्द्रलाई पूर्णतादेखि प्राविधिक शिक्षालयसम्मका कुरा

चितवन । चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघले महत्वपूर्ण २० बुँदे नीति तथा कार्ययोजना तर्जुमा गरेको छ ।

चितवनको कसरामा दुई दिन सम्म चलेको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठीले महत्वपूर्ण कार्ययोजनाको रुपमा निर्माणधिन चितवन प्रर्दशनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र र औद्योगिक प्राविधिक शिक्षालय स्थापनालाई प्राथमिकतामा राखेको छ ।

२०७४÷७६ को कार्यकालमा चितवन प्रदर्शनी केन्द्रलाई पूर्ण रुपमा निर्माण सम्पन्न गरि नियमित संचालन गर्ने, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण प्रक्रिया र औद्योगिक प्राविधिक शिक्षालय निर्माण गर्ने गरि कार्ययोजना बनाईएको संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । “दुई वर्षे कार्यकालमा धेरै काम गर्नुपर्ने छ, मूख्य कार्यक्रमको रुपमा प्रदर्शनी केन्द्र, औद्योगिक क्षेत्र र प्राविधिक शिक्षालयलाई अघि बढाएका छौं”–अध्यक्ष दुवाडीले भन्नुभयो ।

भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघकै परिसरमा अहिले चितवन प्रदर्शनी केन्द्रको निर्माण कार्य चलिरहेको छ भने शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआरको तयारी अन्तिम चरणमा पुगेको छ । यस्तै जिल्लाको जुगेडीस्थित जुरेथुम्कामा संघको स्वामित्वमा रहेको ५ बिघा क्षेत्रफल जमिनमा औद्योगिक प्राविधिक शिक्षालय स्थापना गर्न मास्टर प्लान बनाउने गरि काम अघि बढाईने संघका अध्यक्ष दुवाडीले जानकारी दिनुभयो ।

यसैगरि संघले विगतका वर्षहरुमा गर्दै आईरहेको राष्ट्रिय आद्योगिक प्रदर्शनीलाई यसवर्ष पनि गर्ने भएको छ । प्रत्येक दुई–दुई वर्षमा गर्दै आईरहेको प्रदर्शनी यसवर्ष आउँदो चैत्र महिनाको दोस्रो सातादेखि गर्ने तय भएको संघका उपाध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।

चितवन उद्योग संघले औद्योगिक सूचना केन्द्रको स्थापना, कर्मचारीहरुलाई दक्ष बनाउन तालिमको आयोजना जस्ता अन्य थुप्रै कार्ययोजना तयार पारेको छ । संघले औद्योगिक व्यवसायसंग आकर्षित औद्योगिक नीति बनाउन संघको प्रतिनिधि पठाउने समेत निर्णय गरेको छ ।

यसैबीच संघले ६ जना उपाध्यक्षहरुको कार्यविभाजन समेत गरेको छ । गर्भनिङ काउन्सीलको सहयोगमा संघका अध्यक्ष भेषराज दुवाडीले ६ जना उपाध्यहरुलाई जिम्मेवारी प्रदान गर्नुभएको हो ।

संघले उपाध्यक्ष त्रिलोचन कँडेललाई संगठन तथा योजना विभाग, उपाध्यक्ष राजु पौडेललाई समन्व र सम्बन्ध विस्तार विभाग, उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेलाई उद्योग तथा औद्योगिक प्रवद्र्धन विभाग, उपाध्यक्ष लक्ष्मण अर्याललाई सचिवालय तथा कर्मचारी प्रशासन विभाग, उपाध्यक्ष मदन घिमिरेलाई आर्थिक प्रशासन विभाग र उपाध्यक्ष प्रतिभा श्रेष्ठलाई वस्तुगत, महिला एवंम युवा उद्यमी समन्वय विभागको जिम्मेवारी प्रदान गरेको छ ।

संघको गत पुस २१ गते भएको साधारण सभा तथा अधिवेशनले भेषराज दुवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो । यस पटक विधान संशोधन गरि ६ जना उपाध्यक्ष पद बनाईएको थियो । यसअघि हुने गरेको महासचिव र कोषाध्यक्षको जिम्मेवारी आफ्नो विभागमा परेका उपाध्यक्षले पुरा गर्नेछ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवंम चितवन उद्योग संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, गर्भनिङ काउन्सीलका संयोजक ताराप्रसाद पौडेल, पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी र गुणाकर खरेलले संघका पदाधिकारी र सदस्यहरुलाई संघको गरिमा र जिम्मेवारी बोध गराउनुभएको थियो ।

चितवन उद्योग संघको कार्ययोजना गोष्ठीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले चितवन उद्योग संघले समग्र प्रदेश नम्बर ३ को नेतृत्व गर्ने बेला आएको बताउनुभएको छ ।

अध्यक्ष शर्माले चितवनको मात्र नभई देशलाई नै आर्थिक समृद्ध बनाउन चितवन उद्योग संघले महत्वपूर्ण भुमिका खेल्दै आईरहेकोले अब प्रदेशको नेतृत्व गर्ने बेला आएको बताउनुभयो । उहाँले चितवनमा निर्माणधिन चितवन प्रदर्शनी केन्द्र र निर्माणको चरणमा रहेको शक्तिखोर औद्योगिक क्षेत्र चितवन उद्योग संघकै नेतृत्वमा भएको स्मरण गर्दै यस प्रदेशको आर्थिक हबको रुपमा चितवन स्थापित हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्योग परिसंघले प्रदेशको नेतृत्व गर्न संघलाई दिए चितवन उद्योग संघ तयार रहेको बताउनुभयो । उहाँले यहाँका उद्यमीहरु देशलाई समृद्ध बनाउन लागि परेको भन्दै समग्र प्रदेशकै नेतृत्व गर्न सक्ने अवस्थामा चितवन उद्योग संघ रहेको बताउनुभयो ।

उद्योग परिसंघ चितवन उद्योग संघको छाता संगठन हो । चितवन उद्योग संघले चितवन प्रदर्शनी केन्द्र निर्माण गरिरहेको छ भने शक्तिखोर औद्योगिक क्षेत्रको निर्माणको चरण र प्राविधिक शिक्षालय बनाउने तयारीमा जुटेको छ । 

प्रतिक्रिया दिनुहोस