दिपकले स्वीकारे :“छक्का पञ्जा २ को पुन:रिलिज असफल भयो”

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, १५ : २९
दिपकले स्वीकारे :“छक्का पञ्जा २ को पुन:रिलिज असफल भयो”

काठमाडौँ । दुई वर्ष आगडि रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ बैशाख १३ गतेबाट पुनः रिलिज भएको थियो । निर्माण टिमले दर्शकहरुबाट फेरि पनि माया पाउने विश्वास गरेको थियो । त्यती मात्र होइन फिल्मको रिलिजबाट संकलन भएको रकमबाट ठूलो हिस्सा सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा दुर्गम जिल्ला कालिकोटमा निर्माण हुने रासकोट सामुदायिक अस्पतालका लागि सहयोग गर्ने घोषणा गरेको थियो । तर पुनःरिलिजमा भने ‘छक्का पञ्जा २’ टिम चिप्लिएको छ । फिल्मले सिंगल स्क्रिन हलहरुमा २ दर्जन शोहरु हात पारे पनि मल्टिप्लेक्समा एउटा पनि शो पाउन सकेन । हलिउडको बहुप्रतिक्षित फिल्म ‘एभेन्जर्स इण्ड गेम’ को कारण फिल्म चपेटामा परेको हो ।
‘एभेन्जर्स इण्ड गेम’को नेपाल क्रेज भने गज्जबको देखिएको छ । फिल्मले हलमा सय प्रतिशतको अकुपेन्सी पाएको छ । यता ‘छक्का पञ्जा २’ को पुनः रिलिज असफल भएको भन्दै फिल्मका निर्माता दिपकराज गिरीे बोलेका छन् । उनले सामाजिक सञ्जालमार्फत उनले फिल्मको पुनः रिलिज असफल भएका स्वीकार गरेका छन् । उनले लेखेका छन् “हाम्रो समूह सधै एउटा न एउटा प्रयोग गर्दै आइरहेका छ, हास्य चलचित्र र हास्य कलाकार फिल्ममा चल्दैन भन्ने सोच थियो, तर हामिले नडराइ प्रयोग गर्यौ र दर्शकले माया पनि नसोचेको दिनु भयो। हामिले हरेक दिन नयाँ बजार नयाँ सम्भावना खोजिरहेका छौ,  त्यसै क्रममा चलचित्रको रिपिट रिलिज पनि एउटा सम्भावना हुन सक्छ कि भन्ने सोचेको थियौ तर त्यो सफल हुन सकेनतर यसमा ग्लानी फिटिक्कै छैन” ।
“किनकि हामीलाई थाहा छ कोलम्बसले घर वरिपरि नै रमाएर बसेको भए अमेरिका पत्ता नलाग्न सक्थ्यो, राइट दाजु भाइले कोशिसै नगरेको भए प्लेन उड्न समय लाग्थ्यो यस्ता धेरै उदाहरणहरू छन् ।सफलताको आकाशमा त्यही उड्छ जसले प्रयोगका पखेटाहरू आफू जोडेको हुन्छ जे होस् यो निर्णयमा साथ दिनु हुने शुभचिन्तकहरू मेरो टिम, सम्पूर्ण मित्रहरूलाई धन्यवाद । अस्पताललाई सहयोग गर्न हलहरूबाट कति उठ्छ त्यो पछिको कुरा हो । तर म आज व्यक्तिगत रूपमा रू १ लाख त्यो दुर्गम स्थानको रासकोट अस्पताललाई प्रदान गर्ने घोष्णा पनि गर्दछु”। यता दिपक–दीपाले फिल्म युट्युबमा रिलिज नगरेको भन्दै आक्रोस पोख्नेहरु निकै छन् । उनीहरुले दिपकलाई लोभीको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस