अर्थ मन्त्रालयमा काम भनेकै दिन काट्ने र भत्ता चाट्ने

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, ११ : ३०
अर्थ मन्त्रालयमा काम भनेकै दिन काट्ने र भत्ता चाट्ने

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. रामशरण महत र वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको पार्टी फरक होला तर व्यवहार भने उस्तै छ । दर्शन एउटै छ पूँजीवाद, निजीकरण, उदारीकरण र दलालीकरण । डा. महत र डा. खतिवडामा केही फरक छैन । 
डा. खतिवडाले अर्थ मन्त्रालयमा राखेका भुइँफुट्टाहरुले सरकारलाई त असफल पारे नै, कम्युनिस्ट पार्टीलाई समेत असफल पारेर छाडिदिएका छन् । सरकार असफल पार्न सके एशियाली विकास बैंक वा विश्व बैंकको निर्देशक पदको जागिर सुरक्षित राखेका डा खतिवडालाई नेपाली जनता र राजनीतिसँग कुनै लेनादेना छैन ।
अर्थ मन्त्रालयमा बसेर राज्यको ढुकुटी चलाउने डा. युवराज खतिवडा नेतृत्वले न त राजश्व उठाउन सकेको छ, न त खर्च नै गर्न सकेको छ । केवल दिन काट्ने र भत्ता चाट्नेभन्दा अरु कुनै पनि काम हुन सकेको छैन ।
सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि जुटेको छ । बजेट निर्माणको समयमा नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रमा बजेट पारिदिन मन्त्री तथा उनका सहयोगी समूहलाई आग्रह गर्नु अन्यथा हुँदैन । तर अर्थ मन्त्रालयमा बसेर हालीमुहाली सधैं गर्न पाइन्छ भन्ने सोच राखेका अर्थमन्त्री खतिवडाका ज्वाइँ डा. रामशरण खरेलले नेकपाका नेता तथा कार्यकर्तालाई नै सौतेलो व्यवहार गरेका छन् । 
समाचार स्रोतका अनुसार उनले अर्थ मन्त्रालय विधिमा चल्छ, अर्थमन्त्रीज्यूले विधि बसाल्न लाग्नु भएको छ भन्दै मन्त्री भेट्न खोज्ने नेता तथा कार्यकर्तालाई भेट्नै नदिने र निवेदन लेखेको भरमा योजना नमिल्ने भन्दै थर्काएर पठाउने गरेका छन् । उनले अर्थ मन्त्रालयमा पटक पटक आए प्रहरी लगाएर गलहत्याउनेसम्मको धम्की दिने गरेका छन् । उनले अर्थ मन्त्रालयमा पटक पटक एउटै व्यक्ति देख्दा मलाई समेत नराम्रो लागेको भन्दै दूरुदराजका नेता तथा कार्यकर्ताको भावना माथि खेलवाड गर्ने गरेका छन् । उनले निवेदन लिएर अर्थमन्त्रीलाई अनुहार देखाउन मात्रै नआउन चेतानीको शैलीमा प्रस्तुत हुने गरेका छन् ।
सधैं व्यस्तको बोर्ड राखेर अर्थ मन्त्रालयको कार्यकक्षमा विदेशी पत्रिकामात्रै पढेर बस्ने डा. खतिवडाले पश्चिमा देशका भने जो आएपनि सहजै भेट गर्ने गरेका छन् । उनले आफू प्रधानमन्त्रीप्रति मात्रै जिम्मेवार रहेको र नेता तथा कार्यकर्तालाई समय दिनुपर्छ, उनको कुरा सुन्नुपर्छ भन्ने समेत नलागेको भन्दै होच्याउने गरेका छन् । ओलीको आशीर्वादका कारण पटकपटक लाभको पदमा बसेका र विशेषगरी पश्चिमाहरुको कार्यकर्ताभन्दा माथि उठ्न नसकेका डा. खतिवडाले नेकपाको सरकारलाई करिब करिब असफल बनाइदिएका छन् ।
राष्ट्रिय सभामा जस्केलाबाट छिरेका डा. खतिवडाको कार्यकाल दुई वर्षको हो । एक वर्षभन्दा बढी समय बितिसेकेको छ । बाँकी रहेको समय पनि उनलाई केही गर्नु छैन । नयाँ कार्यक्रम ल्याउनु छैन, भएको बजेट पनि खर्च गर्नु छैन । अर्थात् भए पनि के नभए पनि के भन्ने मानसिकताले काम गरेको छ । डा खतिवडाको ज्वाई ससूरा कम्पनीले सरकार र पार्टी के कसरी असफल बनाउन सकिन्छ भन्ने ध्येय मात्रै राखेको जानकारहरुको भनाइ छ । 
बजेट माग्न आएका नेता कार्यकर्तालाई अपमान गर्ने, उनीहरुको कुरै नसुन्ने तथा कुनै पनि सकारात्मक व्यवहार नै नगर्ने प्रवृत्तिका धनी ज्वाई ससूराको व्यवहारका कारण धेरै मानिस आहत भएका छन् । भुक्तभोगीहरु भन्छन्, जति दिन उनीहरुलाई अर्थ मन्त्रालयको साँचो सुम्पन्छौं, त्यति नै दिन नेपाली जनताले थप दुःख, हैरानी र सास्ती भोग्नु पर्नेछ ।
सरकारका हरेक आर्थिक उपसूचक खराब छन् । अर्थतन्त्रको आधार बन्न सकेको छैन । नारामा समाजवाद भएपनि व्यवहारको त्यसको कुनै झल्को समेत भेट्टाउन सकिएको छैन । व्यवहार हेरौ भने चरम अराजक छ । कार्यशैली सामन्तवाद भन्दा फरक छैन । सरकार दुईतिहाईको भन्दै गफ लगाएको भरमा नेपाली जनताले केही पनि नपाउने अवस्था सिर्जना भएको छ । 
राजश्व उठेको छैन । चालु आवको नौ महिनासम्ममा विकास निर्माणको खर्च मात्रै ३० प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । विकास खर्च नहुने, कुनै पनि आयोजनामा ध्यान नदिने तथा दिए पनि ओलीले भनेका मात्रै गर्ने गरेका डा खतिवडाले सरकारालाई तन्नम बनाएर छाडिदिएका छन् । उनले दुई वर्षपछि जागिर खान पाइने हो कि होइन भन्दै मन्त्रालयमा विशेष गरी पूर्वमाओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई त प्रतिबन्ध नै लगाएका छन् । 
उनले नेपाली जनताको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा रमाएकालाई मात्रै स्रोत उपलब्ध गराउने गरेका छन् । उनले कुनै पनि कामलाई जिम्मेवारीपूर्वक लिने र गर्ने गरेका छैनन् । शेयर बजार उनै खतिवडाले डुबाए । अर्थतन्त्र धरासायी बनाए तर ओली उनलाई नै बोकेर हिँडेका छन् । जसका कारण नेपाली जनताको चाहना र आवश्यकतामाथि उनले कुनै जिम्मेवारी नै लिनु नपर्ने जस्तो व्यवहार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस