‘हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’

शुक्रबार, १३ बैशाख २०७६, १४ : ५९
‘हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’

काठमाडौं । अमेरिकामा मानव तस्करी गरेको आरोपमा चलचित्र ‘हिम्मतवाली’का नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ । 
साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको हो। प्रहरी महानिरीक्षक आइजिपी सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले सुदर्शन गौतमको खोजी हुने छ । 
हाल क्यानाडामा बस्दै आएका गौतमलाई दुई वर्षअघि अमेरिका मानव तस्करी गरेको आरोप लागेको थियो । गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका आरोप छ । फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो। हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका छिराउने योजना रहेको पानीजहाज बिग्रिएपछि उनीहरु बहामास भन्ने देशमा पक्राउ परेका थिए।
अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो। अनुसन्धानकै क्रममा गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
उनी अदालत उपस्थित नभएपछि नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोललाई पत्राचार गरेको थियो। सोही पत्रको आधारमा प्रहरीले उनीविरुद्ध रेड कर्नर नोटिससमेत जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस