श्रीलंका विष्फोटबाट यसरी जोगियो विनोद चौधरीको पाँचतारे होटल

सफल खबर संवाददाता

शुक्रबार, १३ बैशाख २०७६, १३ : ०७
श्रीलंका विष्फोटबाट यसरी जोगियो विनोद चौधरीको पाँचतारे होटल

श्रीलंका । नेपालका उद्योगी विनोद चौधरीको श्रीलंकामा रहेको पाँचतारे होटल आत्मघाती बम विष्फोटबाट जोगिएको रहस्य बाहिर आएको छ । 
श्रीलंकाको कोलम्बोस्थित चौधरीको पाँचतारे होटल ताज समुद्र आत्मघाती बम बिस्फोटबाट जोगिएको समाचार न्यूयोर्क टाइम्सले लेखेको छ।
अन्तर्राष्ट्रिय आतंककारी संस्था इस्लामिक इस्टेट आइएसले कोलम्बोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेटमा चौधरीको होटल ताज समुन्द्र पनि परेको थियो ।
आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामग्री झोलाभरी बोकेर उक्त होटलमा पुगेका र प्राविधिक कारणले विष्फोट नहुँदा होटल र त्यहाँ रहेका पाहुना तथा कर्मचारीहरु सकुशल रहन सफल भएका श्रीलंकाका अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ । ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजेको तर प्राविधिक समस्याले नपड्किएको श्रीलंका प्रहरीले जनाएको छ।
समुद्र किनारमा रहेको पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए। त्यहीँ आत्मघाती बम बिस्फोट भएर उनको मृत्यु भएको थियो। सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ।
ताज समुद्रमा बम पड्केको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने श्रीलंकन प्रहरीको भनाइ छ । 
समुद्री तटमा रहेको कोलम्बोको प्रख्यात चौधरीको ताज समुद्र होटल प्रायः जसो विदेशी पाहुनाहरूले भरिभराउ हुने गर्छ। ताज समुद्र होटल चौधरीले भारतको प्रसिद्ध ताज समूह’सँगको साझेदारीमा खोलेका थिए । चौधरी समूहले संसारभर नै कैयौं होटल र रिसोर्ट चेन सञ्चालन गरिरहेको छ।


 

प्रतिक्रिया दिनुहोस