सल्बलाउन थाले लोडसेडिङ गरेर खान पल्केकाहरु

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, १५ : १०
सल्बलाउन थाले लोडसेडिङ गरेर खान पल्केकाहरु

काठमाडौँ । विगतमा लोडसेडिङ गरेर खान पल्केका र नेपाल विद्युत प्राधिकरणको प्रगति देख्न नसक्ने तत्वहरु सल्बलाउन थालेका छन् । नेपाली काँग्रेसको राजनीति बढी गर्दै आएका केही स्वार्थी झुण्डले प्राधिकरणलाई असफल बनाउने खेल सुरु गरेका छन् । 
प्राधिकरणलाई विगतमा लुटपाटको अड्डा बनाएको भनेर चर्को आलोचनामा परेका मुकेशराज काफ्लेको योजनामा नै प्राधिकरणको नेतृत्वलाई असफल बनाउने खेल सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणमा यही बैशाख १९ गते हुने आधिकारिक टे«ड यूनियनको निर्वाचन कार्यक्रम अघि बढ्दै छ । 
केही समयअघि कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्राधिकरण नाफामै नगएको बताएका थिए । जबकी भर्खरै महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा विद्युत प्राधिकरणले यो वर्षमात्रै २ अर्ब ८४ करोड नाफा गरेको र संस्थाको आर्थिक स्थितिमा सुधार आएको उल्लेख गरेको छ ।
आधिकारिक युनियनको निर्वाचन कार्यक्रम अन्तर्गत मतदाताको नामावली प्रकाशन गर्ने क्रममा केही कार्यालयहरुमा तनावको स्थिति पैदा गरिएको छ । त्यसमा आफू काँग्रेसको ठूलै नेता भए जसरी प्रस्तुत हुने जनार्दन भट्टराईको विशेष हात रहेको छ । प्राधिकरणको हित विपरीत बोलेको भन्दै उनलाई प्राधिकरणको व्यवस्थापन पक्षले स्पटिकरण लिएको थियो । स्पष्टिकरण पत्र बुझ्न अस्वीकार गरेपछि उनलाई सार्वजनिक सूचना नै दिएर स्पटिकरण माग गर्न लागिएको छ । 
कर्मचारी संघले आफैले सहमति गरेर घोषणा गरेको मितिमा चुनाव हुन नदिने भन्दै केन्द्रीय कार्यालयको निर्वाचन अधिकृतको कार्यालयमा लागेको ताला ब्यवस्थापनले एक घण्टा पनि नबित्दै खोलेर सबै कार्य सुरु गरेको थियो । अन्य केही कार्यालयमा पनि तालाबन्दी गर्ने मतदाता नामावली च्यात्ने कार्य गरिएको जानकारी पाएपछि कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्ता गतिविधिमा संलग्न सबैलाई कडा कारबाही गरिने बताएका छन् ।
प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार विराटनगर क्षेत्र अन्तर्गत अनारमनी वितरण केन्द्र, बेलबारी वितरण केन्द्र, रंगेली वितरण केन्द्र र विराटनगर वितरण केन्द्रमा कर्मचारी संघका विराटनगर क्षेत्रिय अध्यक्ष सुपरभाइजर उद्धव भुजेल साथै दमक वितरण केन्द्रमा कार्यरत सुपरभाइजर ज्योति प्रसाईं र बेलबारी वितरण केन्द्रका भिम गनगाईको फोनमार्फत निर्देशन र भौतिक उपस्थितिमा ताला लगाउने र नामावली च्यात्ने काम भएको छ । संघका क्षेत्रिय अध्यक्ष भुजेल केन्द्र प्रमुखहरुलाई प्रभावमा पारि ठेक्का पट्टा गर्ने गतिविधिमा समेत संलग्न छन् । 
 त्यस्तै जनकपुर क्षेत्रिय कार्यालय अन्तर्गत जनकपुर वितरण केन्द्रमा लेखापाल उमेश साह, सुपरभाइजर जगदीश साह उक्त गतिविधिमा संलग्न रहेका थिए । यी २ जना कर्मचारी तिनै हुन् जसलाई केहि समय पहिला कार्यलयमा अराजक गतिविधि गरेको भन्दै ब्यबस्थापन ले कारबाही गरेको थियो ।कर्मचारी संघले यी फटाहा कर्मचारीको सरुवा फिर्ता नभएसम्म चुनावमा नजाने अडान राखेपछि व्यवस्थापनले यिनीहरुको काजसरुवा गरेको थियो । पटक पटक अराजक गतिविधिमा संलग्न भएकोले यी कर्मचारीहरुको जागिर समेत जानसक्ने श्रोतले बतायो । कर्मचारी संघका कोषाध्यक्ष मनिज श्रेष्ठ मिटर उल्टो घुमाई प्राधिकरणलाई करोडौं घाटा पु¥याएको कारण जेल परेका थिए ।
पोखरा क्षेत्र अन्तर्गत लेखनाथ वितरण केन्द्रमा सिमिरी नारायण प्रसाद रिजालले र स्याङ्जा वितरण केन्द्रमा लेखापाल केशव नेउपानेले नामावली च्यातेको फोटो पनि खिचिएको पाइएको छ । नेपालगंज क्षेत्रीय कार्यालय अन्तर्गत नेपालगंज वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रमा फोरमेन दुर्गा जैसी, इलेक्ट्रिसियन भाइराजा श्रीवास्तव, फोरमेन ड्राइभर राजेन्द्र थापाले नामावली च्यातेका थिए । 
बुटवल क्षेत्रीय कार्यालयमा कार्यालय समयपछि नयाँमिल वितरण केन्द्रमा कार्यरत लेखापाल लक्ष्मी क्षेत्रि, क्षेत्रिय कार्यालमा कार्यरत बरिस्ठ सहायक विनु पाण्डे र प्रणाली सुदृढीकरणका सहायक इन्जिनियर रोहिन्द्र भण्डारीले तालाबन्दी गरेका थिए । यस क्षेत्र अन्तर्गत तौलिहवा वितरण केन्द्रमा हेल्पर यज्ञमूर्ति न्यौपाने परासी वितरण केन्द्रमा सुपरभाइजर रोशन मिश्राले मतदाता नामावली च्यातेका थिए ।
राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले कर्मचारीहरुले आफ्नो अभिमत प्रकट गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने कुनैपनि गतिविधि आफ्नो युनियनलाई स्वीकार्य नभएको बताउँदै चुनाव विरोधी सबैखाले गतिविधिको विरूद्धमा आफू खडा हुने बताए । उनले प्राधिकरणमा अराजकता फैलाउने जो कोहीलाई पनि कारबाही गर्न ब्यबस्थापनलाई आग्रह गरिसकेको बताए । 
संयोजक पौडेलले विद्युत प्राधिकरण उज्यालो नेपाल बनाउँदै समृद्धिको यात्रामा अघि बढिसकेकोले अब अँध्यारो बेचेर खान पल्केकाहरुले उठाउन खोजेको टाउको विद्युत प्राधिकरणका १० हजार कर्मचारी, ४० लाख ग्राहक र नेपाली जनताले कुल्चेर धुलोमा मिलाईदिने बताए । उनले आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएको मितिमा सम्पन्न हुने कुरामा कुनै दुविधा नरहेको बताए । 
युनियनका केन्द्रीय कार्यालय सदस्य एवं आन्तरिक ब्यवस्थापन तथा सुशासन विभाग प्रमुख झुलिराम थापाका अनुसार तालाबन्दी गर्ने नामावली च्यात्ने गतिविधिमा संलग्नहरुलाई कारबाहीको लागि संलग्नहरुको नाम, फोटो, भिडियो संकलन गर्ने काम भइरहेको छ । उनका अनुसार मतदान अधिकृत तोकिएका केही कार्यालय प्रमुखहरुले समेत नामावली प्रकाशनमा असहयोग गरेको जानकारी आएकोले यदि त्यस्तो गरेको पाइएमा ती कार्यालय प्रमुखहरुलाई समेत कारबाही गर्न ब्यबस्थापनको ध्यानाकर्षण गराइसकिएको छ । 
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र कुनै पनि खालका अराजक गतिविधि आफुलाई स्वीकार्य नहुने बताउँदै यस्ता गतिविधिमा संलग्नहरुको विवरण संकलन गरिरहेको र संलग्न जो कोहीलाई कारबाही गरिने बताएका छन् । साथै तोकिएको मितिमा निर्वाचन गराइछाड्ने र नेता बनेर काम नगरी खाने कर्मचारीहरुलाई जलेश्वर, दार्चुला, रुकुम, रोल्पा जस्ता चुहावट हुने र कर्मचारी अभाव रहेका कार्यालमा खटाउने तयारीमा रहेको तथ्य सार्वजनिक भएको छ ।
विद्यमान श्रम ऐनले विद्युत लगायत अत्यावश्यक सेवा दिने कार्यालयमा हड्ताल, तालाबन्दी गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । हड्ताल गर्नै पर्ने भएमा ३० दिन अगावै जानकारी दिनु पर्ने उल्लेख छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार विद्युत प्राधिकरणमा हड्ताल गर्ने, तालाबन्दी गर्ने जस्ता अराजक गतिविधिमा संलग्न कर्मचारीको उजुरी परेमा तत्काल हिरासतमा लिई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस