बारपाक भूकम्पको चार वर्ष

प्राविधिकले नहेरेको प्रभावितको गुनासो

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, १२ : ११
प्राविधिकले नहेरेको प्रभावितको गुनासो

चितवन । भूकम्प गएको आज चार वर्ष पूरा भएको छ । जिल्लामा रहेका भूकम्प प्रभावितहरुले प्राविधिकको अनुहार देख्न नपाएको भनी गुनासो गरेका छन् । 
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ निवासी होमबहादुर गुरुङले प्राविधिक बोलाउँदा समेत नआएपछि आफ्नै सुरले घर निर्माणको काम सुरु गर्नु भएको छ । आफूले पटकपटक प्राविधिकलाई बोलाएको तर प्राविधिकले वडा कार्यालयमा सम्पर्क गर्न भनेको भन्दै उहाँले दुःखेसो पोख्नु भयो । उहाँले भन्नुभयो, “प्राविधिकलाई बोलायो वडामा सम्पर्क गर्नुस् भन्छ । वडामा गयो प्राविधिकलाई बोलाउनुस् मेरो काम होइन भन्छ ।” यसरी आफूलाई जनप्रतिनिधि र प्राविधिकहरुले घुमाइरहेको उहाँले बताउनु भयो । 
गुरुङ परिवार अहिलेसम्म जोखिमपूर्ण घरमा नै बस्दै आएको छ । आफ्नो घरमा अति जोखिम भनेर स्टीकर दिइएको बताउँदै उहाँले ‘स्टीकर टाँसियो परिचय पत्र दिईयो तर प्राविधिक आएको छैन’ भन्दै गुनासो गर्नु भयो । प्राविधिक नआएपछि आफ्नै सुरले घरको पिल्लर उठाउने काम सुरु गरेको उहाँले बताउनु भयो । 
यस्तै समस्या रहेको छ मुनामाया चेपाङलाई पनि । उहाँले घर निर्माणका लागि पहिलो किस्ता वापतको रकम लिएर घर बनाउन सुरु गरेको भए पनि प्राविधिकको निगरानी नहँुदा समस्या आएको बताउनु भयो । ‘सबैले घर बनाइसके तर हाम्रो भने कुनै प्राविधिकले पनि हेरेको छैन’ उहाँले दुःखेसो गर्नुभयो । यी दुई जनामात्रै होइन, अहिले जिल्लामा रहेका अन्य धेरै जनाले यस्तै दुःख पाइरहेका छन् पुनर्निर्माणका लागि । कसैले पहिले नै घर बनाएर दुःख पाइरहेका छन् भने कसैले नक्सा पास नगरेर दुःख पाएका छन् । 
भरतपुर महानगरपालिका शिवनगरकी मानकुमारी पुन घर निर्माण सम्पन्न भई सक्दा पनि नक्सा पासको बारेमा जानकारी नभएको बताउनु हुन्छ । प्राविधिकहरुले नक्सा पास गर्नु पर्छ भनेर अहिले बल्ल भनेपछि नक्सा पास गरेको उहाँले बताउनु भयो । 
जिल्लाको तथ्याङ्क हेर्ने हो भने बिनासकारी भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम भने प्रभावकारी रुपमा हुन नसकेको देखिएको छ । जिल्लामा भूकम्पका कारण ७ हजार ३ सय ३५ घरधुरीमा क्षति पुगेको थियो । जसमध्ये अहिलेसम्म ३० प्रतिशतको मात्रै भौतिक संरचना निर्माणको कामले पूर्णता पाएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्बाधार कार्यालयले जनाएको छ । 
कार्यालयका ईन्जिनियर सुजन नेपालका अनुसार जिल्लामा रहेका कुल लाभग्राहीमध्ये अहिलेसम्म २ हजार २ सय १५ घरधुरीले मात्रै आवास निर्माणको काम सम्पन्न गरेका छन् । उनीहरुको लागि तेस्रो किस्ता वापतको रकम समेत निकासा गरिसकेको उहाँले बताउनु भयो 
जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा ५ हजार ८ सय १० घरधुरी रहेका छन् । उनीहरुले पहिलो किस्ता बापतको ५० हजार लगिसकेका छन् । ३ हजार ८ सय ४२ घरधुरीले दोस्रो किस्ता वापतको १ लाख ५० हजारका दरले रकम लिइसकेका छन् । तेस्रो किस्ता बापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि १ लाख दिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस