चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्थापना केन्द्रको शिलान्यास, भरतपुरमा स्पाईनल इन्ज्योरी अस्पतालको निर्माण गर्न लागेकोमा खुशी छु : प्रमुख रेनु दाहाल

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १९ : ५१
चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्थापना केन्द्रको शिलान्यास, भरतपुरमा स्पाईनल इन्ज्योरी अस्पतालको निर्माण गर्न लागेकोमा खुशी छु : प्रमुख रेनु दाहाल

चितवन । श्री उदय कुमार चमेली देवी पिया चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्थापना केन्द्रको सोमबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ सानो मझुवा नगरवनमा निर्माण हुने उक्त केन्द्रको सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो । 

चितवन रोटरी क्लवको नेतृत्वमा रोटरी क्लव अफ रत्ननगर, रोटरी क्लव अफ नारायणगढ, रोटरी क्लव अफ नारायणी मिड टाउन, रोटरी क्लव अफ भरतपुर, रोटरी क्लव अफ जावलाखेलले स्पाइनल इञ्जुरी संघ नेपालसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न लागिएको हो । केन्द्र निर्माण गर्न भरतपुर महानगरले १ विघा जग्गा भोगाधिकार प्रदान गरेको छ । यस केन्द्र स्थापनाका लागि नारायणगढका सामाजिक व्यक्तित्व उदय कुमार पियाले तीन करोड रुपैयाँ सहयोग गर्ने हुनुभएको छ ।

सहयोगी पिया र सञ्चालकहरुसँगको सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उदयकुमार चमेली देवी चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्थापना केन्द्र निर्माणका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने पिया परिवारलाई धन्यवाद दिँदै मानविय सेवा गर्ने हातहरुलाई महानगरपालिकाले सधैँ स्मरण गरिरहने बतउनभयो । भरतपुर महानगरले प्रदान गरेको एक विघा जमिनमा स्पाईनल इन्ज्योरीको समस्यामा रहेका विरामीहरुलाई सेवा पु¥याउने अस्पताल बन्ने निश्चित भएकोमा खुशी व्यक्त गर्दै उहाँले दाता पिया परिवार र सम्पूर्ण रोटरियनहरुलाई धन्यवाद दिनुभयो । प्रमुख दाहालले आवश्यक सहयोग जुटाएर समयमै अस्पताल संचालन गरी विरामीहरुलार्ई सेवा पु¥याउन आग्रह गर्नुभयो ।

मेरुदण्ड घाइते भइ उपचारको अपेक्षा गर्ने सम्पूर्ण सहयोगापेक्षी व्यक्तिहरुलाई उचित उपचार एवं पुनस्थापनाको सेवा पु¥याउने उद्देश्यले नितान्त नाफारहित समाज सेवा गर्ने मनसायबाट यो केन्द्र सञ्चालन गर्न लागिएको चितवन रोटरी क्लवका अध्यक्ष कपिल बाबु खनालले बताउनु भयो । केन्द्रमा ओपीडी फिजियो थेरापीको पनि सुविधा हुने रो. खानलले जानकारी दिनुभयो ।

हाल २५ वेडको क्षमतामा २ वर्षभित्र केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । भविष्यमा केन्द्रलाई ५० वेडको क्षमतामा विस्तार गर्ने र फिजियो थेरापी लगायतका विधाहरुको एउटा सिकाइ केन्द्रको रुपमा यसलाई विकास गर्दै लैजाने लक्ष्य राखिएको अध्यक्ष खनालले बताउनुभयो । 

समाजसेवी पियाले प्रदान गर्न लाग्नुभएको तीन करोड रुपैयाँ, रोटरी क्लवहरु एवं अन्य स्रोतबाट एक करोड ५० लाख रुपैयाँ जुटाएर केन्द्रको स्थापना गर्न लागिएको अध्यक्षले खनालले जानकारी दिनुभयो । यस केन्द्रमा लाग्ने सम्पूर्ण औजार उपकरणहरु रोटरी इन्टरनेशनलको रोटरी ग्रोवल ग्राण्टबाट गर्न व्यवस्था गरिने उहाँले बताउनु भयो ।
यो केन्द्र नेपालकै दास्रो, उपत्यका बाहिर पहिलो एवं महानगरपालिकाबाट प्रोत्साहित गरिएको हालसम्मकै एक मात्र केन्द्र भएको सञ्चालकहरुको दावी छ ।
 


 

प्रतिक्रिया दिनुहोस