प्रचण्डले छलाङ मार्नुभयो, कांग्रेसले राजतन्त्र फर्काउन लाग्यो : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, ०९ बैशाख २०७६, १६ : ४९
प्रचण्डले छलाङ मार्नुभयो, कांग्रेसले राजतन्त्र फर्काउन लाग्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिँडेको बताएका छन् ।
नेकपाको ७० औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बाल्दै उनले नेपाली कांग्रेसलाई यस्तो आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसको विरोध गर्दै उनले २००७ सालदेखि नै कांग्रेस प्रगतिशील शक्तिविरुद्ध उभिएको र प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको आरोप लगाए । उनले भने, ‘कांग्रेसले त्यो बाटो अहिलेसम्म सच्याउन सकेको छैन । लगातार देशभक्त, जनवादी, वामपन्थी शक्तिसँग मिलेर अगाडि बढ्नुपर्थ्यो कांग्रेस । तर, एकाध पटक हामीले धेरै दबाव दिएर बाध्य पार्दा मात्र सहकार्यमा आउने, नत्र प्रतिक्रियावादीसँग घाटी जोड्ने गलत नीति लियो ।’ ‘आज काँग्रेस कहा पुग्यो ?,’ प्रश्न गर्दै अध्यक्ष ओलीले भने, ‘काँग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेको देख्दा विचित्र लाग्छ कुनै पनि लोकतनत्रबादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता पशु र जीवहरुमा हुन्छ तर मान्छेमान्छेका बीचमा जन्मदै कोही ठूलो शासक र रैती जन्मने हुँदैन ।’ लोकतान्त्रिक भन्ने पार्टीले आफ्नो व्यवहार लोकतान्त्रिक नदेखाउने हो भने त्यो शव्द हटाउँदा हुने ओलीको भनाई थियो । 

पार्टी एकताको बारेमा बोल्दै ओलीले नेताहरुले बोल्दा तलमाथि पर्ने गरेकाले पार्टी एकतावद्ध छैन कि भन्ने चर्चा हुने गरेको बताए । केही ज्योतिषीले त यो महिना फुट्छ भनेर भविश्यबाणि गर्न थालेको भन्दै उनले भने, ‘दुईटा पार्टी मिल्छ भन्ने किन थाहा पाएन ज्योतिषीले ।’

नेकपा अध्यक्ष एवं प्रधानमन्न्त्री ओलीले भवितव्यले पार्टी एकता नभएको बताए । उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए । प्रचण्डको प्रशंसा गर्दै ओलीले भने, ‘विशेष गरी कमरेड प्रचण्डलाई धन्यवाद भन्न चाहन्छु, उहाँले एकता प्रयासलाई त्यही गम्भीरताका साथ नलिनु भएको भए, उहाँले फराकिलो पनका साथ ठूलो छलाङको आँट नगर्नु भए यो एकता हुने थिएन ।’

सरकारको बारेमा बल्दै प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै राष्ट्रिय एकताका पक्ष मजबुत बनाउन विभिन्न समुहहरुलाई मुल धारमा ल्याएको र पृथकतावाद समाप्त भएको बताए ।  
त्यस्तै उनले नेकपा  र आर्थिक उन्नतीका सवालमा सुरुदेखि नै अंगिकार गरेपनि विभिन्न स्वार्थका कारण विभाजन र टुटफुट हुदै आएको बताए । जनताको जनवाद अहिले आएको भन्दै उनले यो राजनीतिक अधिकारसँगमात्रै सिमित नभएको बताए । 

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको सरकार हरेक दिन एक कदम अगाडि बढेको बताए । भेरी-बबई भाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ गर्नुका साथै वृद्धबृद्धाको स्वास्थ्य बीमालगायतको कार्यक्रम यो वर्ष मात्र सुरु गरेको उनले सुनाए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे । 

भ्रष्टाचारको सम्बन्धमा कुनै मोलाइजा नगर्ने उनले बताए । सुनकाण्डमा सरकार सफल भएको भन्दै उनले भने, कानमा दुई लालको फुली लगाउन पाएको हुँदैन, चार आनाको औठो लगाउन पाएको हुँदैन । ३८ टन हो कि क्विन्टल ।’

आफ्नो सरकारले त्यो तस्करीको प्वाल झप्पै बन्द गरिदिएको उनले बताए । त्यसपछि भनियो, खोइ सुन ? त्यसबेलाका (सरकार) ले थाहा पाउनु पर्ने हो । हामीले त प्वाल टाल्यौं, कारबाही भइरहेको छ । अब सुनको तस्करी हुँदैन, चल्दैन ।’
मेलम्ची खानेपानीमा ठेकदार भागेपनि मेलम्ची नै बन्दैन भन्ने नभएको उनले बताए ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकार भएकै कारण धेरै काम भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कपडाकै पट्टी नबाँधेपनि चेतना वा आग्रहको पट्टी बाँधेपछि केही पनि भएको देखिँदैन । नभए तथ्य र आंकडाहरुले भन्छ ।’

पढ्नुहोस्, प्रचण्डको भनाइ पनि

भ्रष्टाचारविरुद्ध साँस्कृतिक क्रान्ति आवश्यक छ : अध्यक्ष प्रचण्ड

प्रतिक्रिया दिनुहोस