जीप दुर्घटना हुँदा चालकको मृत्यु

विहीबार, ०५ बैशाख २०७६, ०९ : २२
जीप दुर्घटना हुँदा चालकको मृत्यु

बेझाड । रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक लालबहादुर सिंजालीको बुधबार साँझ उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते चालकका दाजु देवबहादुर सिंजालीको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ । लु१ज १७८६ नंको जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करीब २०० मिटर तल खसेको थियो । स्थानीय मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउराली नजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको थियो । दुर्घटना बुधबार अपराह्न ४ बजेको समयमा भएको हो ।

विस्फोट
जिल्लाको रिब्दिकोट गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ । बुधबार राति करीब २/३ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान भइरहेको बताइएको छ । बम विस्फोटबाट गाउँपालिकाको कार्यालय भवनका सिसा फुटेका छन् ।(रासस)
 

प्रतिक्रिया दिनुहोस