‘एक वर्ष सङ्घीय संरचनाको व्यवस्थापनमै बित्यो’

बुधबार, ०४ बैशाख २०७६, २० : ५०
‘एक वर्ष सङ्घीय संरचनाको व्यवस्थापनमै बित्यो’

बलेवा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकारको एकवर्षे कार्यकाल सङ्घीय संरचनाको व्यवस्थापनमै बितेको बताउनुभएको छ । सङ्घीय संरचनालाई तल्लो तहसम्म व्यवस्थापन गर्न तथा संविधानले परिकल्पना गरेअनुसारका कानून बनाउन  एक वर्ष लागेको उहाँको भनाइ थियो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री विष्टले सरकारले विखण्डनकारी शक्तिलाई मूलधारको राजनीतिमा ल्याउनेदेखि तीन सयभन्दा बढी कानून बनाउनेसम्मका काम सम्पन्न गरेको बताउनुभयो । सरकारले सामाजिक सुरक्षा योजना र प्रधानमन्त्री युवा रोजगार कार्यक्रमजस्ता लोकप्रिय कार्यक्रमको घोषणा गरेकाले ढुक्क भएर पार्टीका पक्षमा बहस गर्न उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । 

“सामाजिक सुरक्षा कार्यक्रम हुने खानेका लागि होइन, गरीबका लागि ल्याइएको हो”, उहाँले भन्नुभयो, “अबको एक÷दुई वर्षमै कार्यक्रम कार्यान्वयनको प्रभाव देखिन थाल्नेछ ।” नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकता भएपछि लामो समयसम्म पनि आधारभूत तहमा एकता टुङ्गो लाग्न नसक्नु दुःखद् भएको मन्त्री विष्टको भनाइ थियो । उहाँले राजनीतिका नाममा झुण्ड निर्माण गरेर आपराधिक क्रियाकलाप गरे सरकारले त्यस्ता शक्तिलाई नछोड्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस