चितवन । कुनै समय ढिँडो गरिबले मात्र खाने खाना हो भन्ने भ्रम थियो । अझै पनि कतैकतै यो भ्रम हटेको छैन, तर सहरबजारमा यो भ्रम हटिसकेको छ ।
सुगर, प्रेसरका रोगीहरुलाई ढिँडोजस्तो उत्तम खाना अरु केही हुँदैन । स्थानीयले उत्पादन गरको गहुँ, फापरको पिठोबाट बनाइएको ढिँडोको स्वाद लिँदा जिब्रो त लठ्ठै पर्छ । त्यसमा पनि अन्तको ढिँडो हो र ! चितवन शक्तिखोरको ढिँडो, क्या मीठो ! जिब्रोलाई त मोहनी नै लगाउँछ । ढिँडोसँगै लोकल कुखुराको मासु, आहा ! स्वादको बयान गर्न सकिदैन ।
कालिका नगरपालिका वडा नं ९ र १० को सिमानामा पर्ने सिन्ती झरनामा नुहाएर आएका एक समूह शक्तिखोरको गुडलक झरना रिर्सोट एण्ड लजमा छिरे । उनीहरुले झरना जाने बेलामा नै लोकल कुखुराको मासु र ढिँडो अर्डर गरेर गएका रहेछन् ।
टोलीलाई रिर्सोटका सञ्चालक राजकुमार बुढाथोकीले ताततातो लोकल कुखुराको मासु र ढिँडो पस्किए, त्यसमाथि गुन्द्रुकको अचार । सुरुपसुरुप ढिँडो खाएका उनीहरुलाई सोधियो ? शक्तिखोरको लोकल कुखुराको मासु र ढिँडो कस्तो लाग्यो ? जवाफ आयो, ‘कुरै नगरौँ, सेलिब्रेटी बनेको छ, यहाँको ढिँडो र लोकल कुखुराको मासु ।’
शक्तिखोरमा आधा दर्जनभन्दा बढी ढिँडो र लोकल कुुखुराको मासु पाक्ने होटलहरु छन् । चितवनको पहाडी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य, सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालगायतका क्षेत्र घुमेर आउने अथवा जानेको मुख्य केन्द्र हो कालिका नगरपालिका वडा नं ९ मा रहेको शक्तिखोर बजार । यही बजार यतिबेला ढिँडो र लोकल कुखुराको मासुको ‘सेलिब्रेटी’ बनेको छ ।
शक्तिखोर बजारबाट तीन किलोमिटरको दुरीमा पर्छ सिन्ती झरना । झरनाको चिसो पानीमा नुहाएर आउनेहरुको लर्को लाग्छ शक्तिखोरको ढिँडो खान ।
उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सदरमुकाम भरतपुर हुनुअघि गढीबाटै सबैखाले प्रशासनिक कामहरु हुन्थे । गढी क्षेत्र इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा पर्छ । गढी घुमेर आउनेहरु पनि शक्तिखोरको ढिँडो र लोकल कुखुराको मासुको स्वादमा पल्केका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–१ हातिवाङ काउलेमा रहेको छ पर्यटकीयस्थल सिराइचुली । समुद्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली चितवनकै सबैभन्दा अग्लो भूमि हो । यहाँबाट बिहान सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
साथै सिराइचुलीबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको सम्पूर्ण भूभाग तथा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लाङ्टाङ, गणेश, मनास्लुलगायतका हिम श्रृंखला सजिलै देख्न सकिन्छ ।
चाहे सिन्ती झरना होस् चाहे गढी अथवा सिराइचुली पुगेर फर्केनेहरु अथवा चढ्नेहरुको लागि खाना खाने ठाउँ भनेको शक्तिखोर हो । पछिल्लो समय शक्तिखोरमा होटल खोल्ने क्रम पनि बढेको छ । यहाँ आइसकेपछि चितवनको पहाडमा उत्पादन भएको गहुँ र फापरको ढिँडो नखाई मनै नमान्ने काठमाडौँबाट आएका विराज श्रेष्ठले बताउँछन् ।
उनले भने, ‘सुरुपसुरुप ढिँडोसँग लोकल कुखुराको मासुको झोल पिउँदा त आहा ! थुम्सी नै नछोडौँजस्तो पो हुन्छ ।’ कुनै बेला गाउँघरका गरिब बूढापाकाहरु भन्थे, ‘गाउँमा धान फल्दैन, बिहान र बेलुका ढिँडोको भरमा जीवन गुजारिएको छ ।’ कुनै बेला गाउँघरबाट विस्थापित भएको ढिँडो अहिले शक्तिखोरमा ‘सेलिब्रेटी’ भएको छ ।
शक्तिखोरका होटल सञ्चालकहरु यहाँको ढिँडो अर्गानिक हुने बताउँछन् । पहाडमा चेपाङहरुले उत्पादन गरेको फापर, गहुँ, मकैबाट ढिँडो पकाइने होटल सञ्चालकहरुको भनाइ छ । होटल सञ्चालकहरुले ढिँडो बनाउनको लागि मकै, गहुँ, फापर किन्न बजार जाँदैनन्, पहाड उक्लिन्छन् अर्गानिकको लागि ।
यहाँका व्यवसायीले ढिँडोमा बजारको घिउ हाल्दैनन् । किसानले घरमा उत्पादन गरेको घिउ किनेर ढिँडोमा हाल्छन् । अर्गानिक ढिँडोमा माछाको मीठो स्वाद पाइन्छ, तर अर्डर गर्न बिर्सन भने हुँदैन ।
लोकल कुखुराको मासुसँग शक्तिखोरको ढिँडोको स्वादले जोकोहीलाई लोभ्याउँछ । ‘यहाँको ढिँडो अर्गानिक हुन्छ, हामीले चितवनको पहाडी क्षेत्रमा उत्पादन भएको अन्नबाट ढिँडो बनाउँछौँ’ गुडलक झरना रिर्सोट एण्ड लजका सञ्चालक राजकुमार बुढाथोकीले भने ।
स्वास्थ्यका लागि समेत राम्रो मानिने ढिँडोे नेपाली परिकार हो । शहरमा यसले उच्चस्तरको सम्मान पाउँदै गएको छ । कोदो, फापर, मकै र गहुँको पिठोबाट बनाइन्छ ढिँडो । ढिँडो मधुमेह, उच्च रक्तचाप, तथा युरिक एसिड जस्ता रोगका बिरामीहरूको लागि अत्यन्तै राम्रो मानिन्छ । सञ्चालक बुढाथोकीले भने, ‘अझ गुन्द्रुक, दही, अचार, सिस्नुको खोले, दालसँग शक्तिखोरको ढिँडो खाँदाको स्वाद त वर्णन गर्न नसक्नु नै हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ बैशाख २०७६, १७ : १४
लेखकबाट थप