मंगलबारे । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ । सन्दकपुर गाउँपालिकास्थित बाह्र मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको सो कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।
शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने छन् । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार ५०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने निर्देशक प्रधानले बताए ।
आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाकाका लागि शेयर निष्कासन गरेको हो । कम्पनीले यहाँका स्थानीयवासीका लागि रु ११ करोड मूल्य बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरेको छ । प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिकाका बासिन्दाले छ लाख ६० हजार तथा इलाम नगरपालिकाका बासिन्दाले चार लाख ४० हजार कित्ता शेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस