भ्रष्टाचार विरुद्ध राजनीतिक दल लाग्नुपर्छ : नेता सिंह

मंगलबार, २६ चैत्र २०७५, १८ : ५२
भ्रष्टाचार विरुद्ध राजनीतिक दल लाग्नुपर्छ : नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार विरुद्धको आन्दोलनमा राजनीतिक दल लाग्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको अभियान : लोकतन्त्रका पर्याय गणेशमान’ विषयक विचार गोष्ठीमा उहाँले भ्रष्टाचार अन्त्यको लागि राजनीतिक दलनै लाग्नुपर्ने बताउनुभएको हो । 

नेता सिंहले विसं २०४६ को जनआन्दोलनलाई सफल बनाउन स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “विसं २०४६ मा आएको परिवर्तनलाई संस्थागत गर्न नसक्दा विसं २०६२÷६३ को आन्दोलन गर्नुपर्ने अवस्था आयो, यो राजनीतिक दलको कमजोरी हो”, उहाँले भन्नुभयो, “गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता हुनुहुन्थ्यो ।”
 
काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले प्रजातान्त्रिक प्रक्रियालाई टिकाएर राख्न गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “गणेशमान सिंह लोकतन्त्रका लागि बढी चिन्तन गर्ने र त्यसको संरक्षणमा लागि पर्ने व्यक्ति हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । 

पूर्वसभामुख दमननाथ ढुङ्गानाले लौहपुरुष गणेशमान सिंह भ्रष्टाचार विरोधी नेता भएको बताउनुभयो । “भ्रष्टाचार घटाउन व्यक्तिभित्र निष्ठाको खाँचो आवश्यक छ”, उहाँले भन्नुभयो । पूर्वसभामुख ढुङ्गानाले भ्रष्टाचार राजनीतिक दलबाट बढिरहेको बताउँदै भ्रष्टाचार घटाउन राजनीतिक दल र जनप्रतिनिधि लाग्नुपर्ने उल्लेख गर्नुभयो । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलले मुलुकमा देखिने र नदेखिने भ्रष्टाचार बढ्दै गएको बताउँदै यसले लोकतन्त्रलाई खतरामा पार्न खोजेको बताउनुभयो । आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । “नेपालमा भ्रष्टाचारलाई कारवाही गरीने कानून फितलो हुँदा भ्रष्टाचार बढ्दै गएको छ”, उहाँले भन्नुभयो । 

पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले मुलुकमा निर्वाचन प्रणाली महङ्गो हुँदै गएको बताउनुभयो । “निर्वाचन प्रणाली खर्चिलो हुँदै जाँदा भ्रष्टाचार पनि बढ्दै गयो”, उहाँले भन्नुभयो । डा दधी अधिकारीले मुलुकको आर्थिक विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु जरुरी रहेको बताउनुभयो । विसं २०७२ कात्तिक २४ मा जन्मनुभएका नेता सिंहको आह्वानमा विसं २०४६ को जनआन्दोलन सफल भई चैत २६ गते मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस