‘छ माया छपक्कै’ नामक चलचित्र बनाउँदै दीपक र दीपा

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, १५ : ०८
‘छ माया छपक्कै’ नामक चलचित्र बनाउँदै दीपक र दीपा

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँगको सहकार्यमा बनाउन लागेको फिल्मको नाम फाइनल भएको छ । फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको जनाइएको छ । 
सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हाे। 

दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको कारण यो फिल्मको नाम पनि ‘छ’ अक्षरबाटनै जुराइएको बुझिएको छ । 

‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनले जानकारी दिए ।
२२ बैशाखबाट छायांकनमा जाने तयारी भइरहेको फिल्म दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् ।

यो फिल्म दीपकको टिमले ५० प्रतिशत मुनाफा लिने सहमति भएको छ । तर लगानी भने पुरै रोहित अधिकारीले गर्नेछन् । फिल्ममा दीपक र केदार घिमिरे बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको छ । फिल्ममा  दीपक शर्माको संगीत रहनेछ । 

फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस