वैदेशिक रोजगार

प्रधानमन्त्रीले ‘सातो’ लिन्छन्, तस्करले ‘धम्की’ दिन्छन्

वैदेशिक रोजगारीलाई मर्यादित बनाउन खोज्दा मन्त्री विष्ट संकटमा

सफल खबर संवाददाता

सोमबार, २५ चैत्र २०७५, १४ : ०१
प्रधानमन्त्रीले ‘सातो’ लिन्छन्, तस्करले ‘धम्की’ दिन्छन्

काठमाडौँ । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई मर्यादित बनाउन खोज्दा संकटको सामना गर्नु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री विष्टको सातो लिन थालेका छन् भने मानव तस्करहरुले ‘ठीक पार्ने’ धम्की दिन थालेका छन् ।

मलेसियाको रोजगारीलाई मर्यादित बनाउन खोज्दा प्रधानमन्त्रीको नाम लिँदै केही मानव तस्करले पछिल्लो दिनमा मन्त्री विष्टलाई ‘ठीक पार्ने’ धम्की दिएका हुन् । उनीहरुले ‘प्रधानमन्त्रीले भनेको व्यक्ति वा संस्थालाई मलेसियाको सबै जिम्मेवारी दिनुपर्छ, होइन भने मन्त्री पद नै उडाइदिन्छौं’ भन्दै मन्त्री विष्टलाई धम्की दिने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार मन्त्री विष्टलाई प्रधानमन्त्रीको नाम लिँदै केही व्यापारीले समेत नियमितजसो थर्काउने गरेका छन् । उनीहरुले मलेसिया कामदार पठाउँदा त्यसअघि गर्नुपर्ने सबै काम आफूहरुले पाउनु पर्ने भन्दै सोही अनुसार निर्णय नभए त्यसबाट पर्ने प्रभावको आँकलन आफैं गर्न मन्त्री विष्टलाई धम्क्याएका छन् ।

वैदेशिक रोजगारीको नाममा नेपाली युवा ठगिनबाट जोगाउन मन्त्री विष्टले सकारात्मक प्रयास गरेका थिए । उनले ‘कुनै पनि मानव तस्करले मलेसियाको विषयमा ¥याल नकाढे हुन्छ’ भन्दै स्पष्ट शब्दमा अस्वीकार गरिदिएका थिए । तर पछिल्ला दिनमा प्रधामनन्त्रीनिकट व्यक्तिको संस्थालाई मलेसियाको कामको प्रमुख जिम्मेवारी दिनुपर्ने भन्दै मन्त्रीलाई विभिन्न कोणबाट धम्की एवम् दबाव दिने कार्य जारी रहेको छ । उनीहरु खुल्लमखुल्ला लुटपाट गर्न पाउनु पर्छ भन्ने शैलीमा प्रस्तुत भएका छन् । नेपाली युवाको मोलमोलाइ गर्ने प्रवृत्तिको निरुत्साहनका लागि अघि सरेका मन्त्री विष्टलाई नै हटाउनेसम्मको धम्की मानव तस्करले दिने गरेका छन् ।

मन्त्री विष्टले अझै पनि विधिमा मात्रै नेपाली कामदारलाई मलेसिया पठाउने बताउँदै आएका छन् । तर उनलाई काम नै गर्न नदिने वातावरण प्रधानमन्त्री वरपरका व्यक्तिबाट निर्माण गरिएको छ । भिएलएनको नाममा नेपाली युवा ठग्नेहरु यतिखेर प्रधानमन्त्रीका खास मान्छे बनेका छन् । उनीहरु ‘प्रधानमन्त्रीले भने अनुसार गर्नु, होइन भने ठीक हुँदैन’ भन्दै मन्त्री विष्टलाई धम्क्याउने काममा व्यव्स्त छन् ।

घटनाक्रमहरुले प्रधानमन्त्री ओली मानव तस्करको जालोमा नराम्ररी फँसेको देखिन्छ । जसरी भएपनि विवादास्पद व्यापारीलाई नै मलेसियाको सम्पूर्ण काम गर्ने गराउने जिम्ममा दिने काममा प्रधानमन्त्री निकटको शक्ति लागेका छ । ‘हामी मन्त्री विष्टले भनेको मान्दैनौँ, हाम्रा त प्रधानमन्त्री नै छन्’ भन्दै मानव तस्करहरु कहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय त कहिले बालुवाटारमा पुगेर मन्त्री विष्टविरुद्ध प्रधानमन्त्रीका कान भर्ने गरेका छन् ।

‘मन्त्री विष्टले मलेसिया रोकेरमात्रै राख्यो, प्रधानमन्त्रीको पहलमा खुल्यो’ भन्दै मानव तस्करहरु मन्त्री विष्टकै कारण नेपालीले दुःख पाएको गलत तथ्य स्थापित गर्ने प्रयास गरिरहेका छन् । यो प्रयासले काम गर्ने हो वा होइन भन्ने विषयमा उनीहरुभन्दा बढी चासो प्रधानमन्त्री ओलीलाई परेको छ । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका आङछिरिङ शेर्पाको नाम लिँदै केही व्यक्तिले मलेसियाको विषयमा चासो व्यक्त गरेका छन् ।

आज सोमबारदेखि विगतमा कलिङ भीषा आएका नेपाली युवा मलेसिया जान पाउने भएका छन् । त्यसको पछाडि पनि प्रधानमन्त्रीको नाम बेच्दै हिँड्ने तस्कर सञ्जालका सदस्यहरु रहेका छन् । उनीहरुले ‘मन्त्री विष्टलाई अब भने गलाइयो । हाम्रो स्वार्थ पूरा हुने भयो । प्रधानमन्त्रीको चाहना पनि सम्बोधन हुने भयो’ भन्दै सुन्धारा र ठमेलका रेष्टुरेन्टमा चर्चा गर्ने गरेको गाइँगुइँ सुनिएको छ ।

प्रतिक्रिया दिनुहोस