बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार भत्ता दिने निर्णय गरेसँगै हालसम्म ४८ जना आमालाई प्रोत्साहन भत्ता दिएको छ ।
स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने ४८ आमालाई नेपाल सरकारले दिँदै आएको संस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० बाहेक गाउँपालिकाले दिएको थप रु एक हजार प्रोत्साहन भत्ता वितरण गरिसकेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए । उनले भने, “आव २०७४÷७५ को साउनदेखि ४८ जना आमालाई सो रकम वितरण गरिसकेका छौँ ।”
गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुशी भएका छन् । छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिएबापत गाउँपालिकाले प्रोत्साहन भत्ता दिँदा जन्मिएका बालबालिकालाई न्यानो लुगा किन्न सजिलो भएको दोगडाकेदार–६ का रुवसी विकले बताइन् ।
यो कार्यले आमालाई पनि साहस प्राप्त हुने र घरमै हुने विभेदको अन्त्य पनि हुने गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीको भनाइ छ ।
गर्भावस्थामै छोरी भए गर्भ फाल्ने हुनाले भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौदेखि प्रोत्साहन दिने निर्णय गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।
“महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न यस्तो निर्णय गरिएको हो, छोरी जन्माउँदा घरमा पनि नकारात्मक सोचले हेर्ने भएकाले यो स्थितिमा परिवर्तन गर्नु आवश्यक छ,” उनले भने । छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो । (रासस)
प्रतिक्रिया दिनुहोस