काठमाडौं । भक्तपुरमा करिब तीन हजार कुखुरा नष्ट गरिएको छ । सूर्यविनायक नगरपालिका–४ दधिकोटको उत्कृष्ट बहुउद्देश्य कृषि फर्ममा बर्डफ्लु संक्रमित दुई हजार नौ सय ८५ कुखुरा नष्ट गरिएको हो ।
दधिकोट, तर्खालका सञ्जीव बुढाथोकीले सञ्चालन गरेको फर्ममा रहेका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण भएको पुष्टि भएपछि प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठ नेतृत्वको टोलीबाट त्यति कुखुरा नष्ट गरिएको हो । अहिले सो क्षेत्रमा भाइरस नियन्त्रणको प्रयास भइरहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए । सोही फर्ममा एक सय ५० केजी दाना पनि नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । फर्म आसपासको क्षेत्रमा रहेका अन्य फर्महरुमा समेत ल्याब परीक्षण भइरहेको विभागले जनाएको छ ।
यसैबीच, बर्डफ्लुको संक्रमणबाट काठमाडौंका विभिन्न ठाउँमा तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेको भेटिएपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनायो ।
नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरुले बताएका छन् । वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने, ‘मरेका कागको नमुना परीक्षण गर्दा बर्डफ्लु एच५एन१ पोजेटिभ देखियो ।’
उनका अनुसार परेवा, भँगेरामा कुनै समस्या नदेखिएको तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्कता अपनाइएको छ, पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ । बर्डफ्लु कुखुरा र कागबाट मानिसमा सर्ने सम्भावना बराबर हुने, मानिसबाट मानिसमा सर्ने क्रम झन् तीव्र हुने श्रेष्ठले बताए ।
केही समयअघि टोखा क्षेत्रमा कुखुरामा बर्डफ्लु देखिएको र फालेका कुखुरा खाँदा कागमा सरेको हुन सक्ने अनुमान पशु चिकित्सकको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले कागमा बर्डफ्लु देखिएपछि थप सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०७५, १२ : ५५
लेखकबाट थप