व्यापारी सुवास श्रेष्ठ पुनः पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०७५, ११ : ०७
व्यापारी सुवास श्रेष्ठ पुनः पक्राउ

काठमाडौं । शुक्रवार दिउँसो ठूलो परिमाणमा अवैध डलर बोकेर थाइल्याण्ड जाँदै गरेका व्यापारी सुवास श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको केही बेरमै एसएसपी सन्दिप भण्डारीको रोहबरमा उनी छुटेका थिए । 

शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत परिवारका पाँच सदस्यसहित श्रेष्ठ बैंकक जाँदै थिए । उनले ठूलो परिमाणमा अवैध डलर बोकेको सुराकी पाएपछि विमानस्थलमा कार्यरत सिभिल प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

श्रेष्ठ पक्राउ परेपछि एसएसपी भण्डारीलाई सुवास निकट शक्तिशाली व्यक्तिहरुले लामो सयम फोन गरेर छुटाउन लगाएका थिए । त्यसैले कानुन नबुझी किन पक्राउ गरेको ? भन्दै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भण्डारीले उनलाई तत्काल रिहा गर्न आदेश गरेका थिए । 

तर व्यापारी सुवास श्रेष्ठ फेरि पक्राउ परेका छन् । श्रेष्ठलाई रिहा गरेको कुरा सञ्चारमाध्यममा आएपछि उनलाई पुनः नियन्त्रणमा लिइएको विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिएका छन् । 

शनिबार बिहान ७ बजे सञ्चारमाध्यममा प्रेश रिलिज पठाएर अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुवास श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको जानकारी दिएको छ । ‘बोर्डिङ गेट नम्बर–५ बाट पक्राउ परेका सुवास श्रेष्ठलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाईने छ’, विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं–७ मित्रपार्क स्थायी वतन भएका सुवास श्रेष्ठको साथबाट प्रहरीले थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार बरामद गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस