चितवन । नेपालको पर्यटन क्षेत्रमा काठमाडौंपछि पोखरा, चितवन र लुम्बिनीको नाम आउँछ । यी तीन गन्तव्यलाई पर्यटनको त्रिकोण मानिन्छ । यसलाई प्रभावकारी बनाउन पोखरा, चितवन र लुम्बिनीबीच समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाले बताएका छन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटनको त्रिकोणलाई प्रभावकारी बनाउन सम्बन्धित तीन गन्तव्यबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । संघले नयाँ वर्ष २०७६ को अवसरमा आयोजना गर्न लागेको १६औं फेवा नयाँ वर्ष महोत्सवको प्रचारप्रसारका क्रममा सोमबार चितवनमा भएको छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष तुलाचनले पर्यटकीय गन्तव्यहरुबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याउनु भएको हो । जाउँ है पोखरा भन्दै प्रचारप्रसारमा जुटेको पोखरेली पर्यटन व्यवसायीको टोली काठमाडौं, जनकपुरहुँदै चितवन आइपुगेको थियो । टोली चितवनबाट सोमबार नै लुम्बिनीतर्फ प्रस्थान गरेको छ ।
नेपाल पर्यटन बोर्डका सदस्य एवं संघका पूर्वअध्यक्ष विप्लव पौडेलले पोखरालाई उत्सव र महोत्सवको शहर बनाउने योजनाका साथ कार्यक्रमहरु अगाडि बढाइरहेको बताउनु भयो । गण्डकी प्रदेशले आह्वान गरेको आन्तरिक पर्यटन वर्ष २०१९ र नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई टेवा दिन नयाँ वर्ष महोत्सव आयोजना गरिएको उहाँले प्रष्ट पार्नु भयो । महोत्सवको मुख्य उद्देश्य आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नु नै रहेको उहाँको भनाइ थियो ।
संघका निवर्तमान अध्यक्ष भगतराज पराजुलीले आन्तरिक पर्यटनको विकास गर्न सके घुमफिरमा विदेशिने ठूलो रकम रोक्न सकिने बताउनु भयो । उहाँका अनुसार पर्यटन क्षेत्रमा वर्षको १६ अर्ब रुपैयाँ विदेशीले नेपालमा खर्च गर्छन् भने वर्षको २९ अर्ब रुपैयाँ नेपालीले विदेशमा खर्च गर्छन् । संघका महासचिव गणेशराज पहारीले आन्तरिक पर्यटनको विकासले सरकारको समृद्धिको लक्ष्यलाई सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, चितवन पर्यटन विकास समितिका कार्यवाहक अध्यक्ष बद्री अधिकारी, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले आन्तरिक पर्यटक बढाउनमा जोड दिनु पर्ने बताए । चितवन आउने पर्यटकको आधिकारिक तथ्यांक राख्ने व्यवस्था मिलाउनु पर्ने उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
सोमबार, १८ चैत्र २०७५, १५ : ५८
लेखकबाट थप