काठमाडौंका सडक बढार्दै इटालीका ब्रुमर

राजधानीलाई धूलोमुक्त बनाउने उद्देश्य

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०७५, १६ : ५५
काठमाडौंका सडक बढार्दै इटालीका ब्रुमर

काठमाडौं । विदेशमा जस्तै अब हाम्रो देशको राजधानी काठमाडौंका सडक ब्रुमरले सफा गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले इटलीबाट ल्याएको पाँच वटा आधुनिक ब्रुमर आजबाट सञ्चालनमा ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले राजधानीलाई धूलोमुक्त बनाउने उद्देश्यले ५ वटा ब्रुमर भित्र्याएको छ । काठमाडौं उपत्यकामा धुलोको समस्या समाधान गर्न महानगरले प्रति ब्रुमर २ करोड १७ लाख मूल्यमा ब्रुमर ल्याएको छ । महानगरपालिकाले सडकको धुलो बढार्न मंगलबारदेखि पाँचवटा ब्रुमर सञ्चालन गरेको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका हुन् । महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको हो । महानगरका अनुसार आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा कम चौडाका सडक सफा गरिनेछ । सडक विभागसँगको समन्वयमा मुख्य सडकमा समेत ब्रुमर सञ्चालन हुने छन् ।

टेकुबाट छुट्ने पाँच वटा ब्रुमर फरक फरक रुटमा सडक बढार्दै अघि बढ्ने महानगरपालिकाले जनाएको छ । युरो ४ एमिसन स्टाण्डर्डको डुलेभो ६००० मोडलका यी ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । डिजेलबाट चल्ने ब्रुमरमा अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चार वटा ब्रस रहेको छ ।

ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेको महानगरपालिकाले जनाएको छ । यसको अधिकतम क्षमता २५ हजार स्क्यानर मिटर (०.०२५ स्क्यानर किलोमिटर) प्रतिघण्टा रहेको छ ।  पाँच वटा ब्रुमरको इटलीमा परेको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको छ । यसबाहेक स्पेयर पार्टस्को भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैयाँ रहेको छ ।

यस्तो छ रुट
(१) टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड–टेकु–त्रिपुरेश्वर–सुन्धारा–नयाँ सडक–जुद्ध सालिक–महाङकाल– जमल–लाजिम्पाट– शितल निवास–शिक्षण अस्पताल–नारायणगोपाल चोकसम्मको मुख्य सडक । त्यस्तै जमल–विश्वज्योति–घन्टाघर–भद्रकाली–शहीद गेट हुँदै सुन्धारासम्म ।

(२) टेकुबाट त्रिपुरेश्वर–थापाथली–माइतीघर– बबरमहल– बानेश्वर– तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म । त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर– पेप्सिकोला । पेप्सिकोला चोकबाट कोटेश्वर नयाँ बानेश्वर– माइतीघर––थापाथली( त्रिपुरेश्वर (कालीमाटी( बल्खुसम्म ।

(३) टेकु–त्रिपुरेश्वर सुन्धाराहुँदै भोटाहिटी –विश्वज्योति –घन्टाघर भद्रकाली सिंहदरबारबाट पुतलीसडकतर्फको सडक । पुतली सडकबाट कमलादी मोड हात्तीसार जयनेपाल हल –दरबारमार्ग –कमलादी –प्रज्ञा भवन , नारायणहिटी हुँदै केशरमहल चोक लाजिम्पाट –खानी तथा भूगर्भ विभाग अगाडिको चोक –गैरी धारा– सभामुख क्वाटर राष्ट बैक– प्रधानमन्त्री निवास । रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा नं ३ कार्यालयको सडक । फर्किंदा शितल निवास– पानी पोखरी हुँदै लैनचौर –सोह्रखुट्टे –बालाजु चोक –स्रोहखुट्टेबाट विष्णुमती –लिङ्क रोड इन्द्रायणी –नरदेवी पुलदेखि टेकुसम्म ।

(४) टेकुबाट पुतलिसडक– कमलपोखरी ज्ञानेश्वर –मैतीदेवी –पुरानो बानेश्वर– सिनामंगल– एयरपोर्ट गेट –गौशाला –चावहिल होटल हायात फिर्किएर चावहिल –गौशाला बत्तीसपुतली –पुरानो बानेश्वर –मैतीदेवी डिल्लीबजार –पुतलीसडक –प्रदर्शनी मार्ग सिंहदरबार –माइतीघर मण्डला –थापाथली–त्रिपुरेश्वर –टेकुसम्म ।

(५) टेकुबाट त्रिपुरेश्वर– पोस्ट अफिस– न्यूरोड गेट –बसन्तपुर –इन्द्रचोक –न्यूरोड महांकाल –जमल –केशरमहलबाट त्रिदेवी मार्ग ठमेलबाट फर्किएर दरबारमार्गसम्म ।

प्रतिक्रिया दिनुहोस