नेपाली कामदारले जापानमा जापानी नागरिक सरह पारिश्रमिक पाउने

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०७५, १५ : १२
नेपाली कामदारले जापानमा जापानी नागरिक सरह पारिश्रमिक पाउने

काठमाडौं । नेपाली श्रमीक जापान पठाउने विषयमा दुई देशबीच समझदारी भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका हुन् । 
समझदारी अनुसार जपान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् ।  जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ । कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योथ, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योथ, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हजाई उद्योगमा श्रमिक लिनेछ ।

‘नेपालीका लागि सबै कार्यक्षेत्र खुला छ तर, कुन क्षेत्रमा कति कामदार भन्ने निश्चित हुन बाँकी छ’ श्रम मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भनेका छन् ।

जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्नेछ । समझदारीअनुसार कामदार भर्न र आपूर्तिका लागि छुट्टै सरकारी संयन्त्र खडा गरिनेछ । यसैमार्फत नेपाली कामदार जापान पठाइनेछ ।

साथै कामदार जापान जाँदा लाग्ने लागत लगायतका विषय सहसचिव स्तरको द्वीपक्षीय प्राविधिक समितिमार्फत टुंगो लाग्ने अधिकारीहरुले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस