मकवानपुर । २०५२ सालतिरको कुरा हो । लोथर खोलापारि मकवानपुरको सिलिङे डाँडाबाट दिनेश प्रजा पाँच वटा कुचो बोकेर बिक्रीको लागि लोथर बजार झर्थे । ११ वर्षको उमेरमा काँधमा कुचो बोकेर बजार झर्नुको उनको स्वार्थ हुन्थ्यो, लोथरको पुलपारिबाट हुइँकिएर आउने गाडीलाई आँखै अगाडि हेर्ने अवसर छोप्नु ।
लोथर बजारमा राजमार्ग छेउमा उभिएर गाडी आएको हेर्दाहेर्दै उनको टाउको गाडी हुइँकिएको दिशातिर मोडिन्थ्यो । गाडी पर पुग्दासम्म आँखा झिमिक्क नगरी हेर्थे उनी । पछाडिबाट आएको अर्को गाडीको आवाजले तर्सेर भाग्थे पनि । दिनेशले जीवनमा पहिलोपटक गाडी देखेको २३ वर्षमा लोथर खोलामा निकै पानी बगिसक्यो । आज उनीसँग पल्सर बाइक छ । एउटा बोलेरो जिप र ट्याक्टर पनि छ । पल्सरमा उनी हुइँकिन्छन् । जिप र ट्याक्टरमा मह ओसार्छन् ।
दिनेशले महको संगत गर्न थालेको १२ वर्ष भयो । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ मा रहेको जनचेतना साना किसान कृषि सहकारी संस्था लि. को साथ पाएर दिनेश महको संगतमा पुगेका हुन् । सुरुमा गाउँगाउँमा गएर मह संकलन गर्ने दिनेशले अहिले सहकारीको मह प्रशोधन केन्द्र र बिक्री केन्द्रमा काम गर्छन् । मह प्रशोधन केन्द्र चितवनको राप्ती नगरपालिका वडा नम्बर एक लोथरमा उनी आफैले स्थापना गरेका हुन् ।
नुनसँग साटिन्थ्यो मह
मकवानपुरको काँकडा र राक्सिराङ अनि चितवनको कोराक र लोथरमा चेपाङ समुदायले परम्परागत मौरीघारमा सेरेना जातको मौरी पाल्थे । अहिले उनीहरुले मेलिफेरा जातको मौरी आधुनिक घारमा पाल्न थालेका छन् । दिनेश २०६३ सालमा सहकारीको लागि मह संकलन गर्न गाउँगाउँ पुग्थे । ‘लोथर बजार झरेर नुन र तेलसँग मह साट्ने चेपाङले त्यसपछि पैसासँग मह साट्न थाले’ विगत सम्झँदै दिनेश भन्छन्, ‘सहकारीले किसानसँग एक सय ४० रुपैयाँ किलोमा मह किनेर हल्का प्रशोधनपछि एक सय ८० रुपैयाँ किलोमा बिक्री गथ्र्यो । नुन र तेल दिएर अर्गानिक मह किन्न पल्केका केही व्यापारीले मलाई लखेट्नेसम्मको काम गरे । तर म विचलित भइन ।’
महको पैसा पाउन थालेपछि एक वर्षपछि चेपाङले लोथर बजारमै ल्याएर सहकारीको मह संकलन केन्द्रमा बिक्री गर्न थाले । गाउँबाट चाकासहितको मह आउँथ्यो । त्यसलाई ठूलो भाँडोमा राखेर चाका हटाएर सहकारीले मह बिक्री गथ्र्यो । यस्तैमा २०६४ सालमा सहकारीको चारदिने भ्रमणमा दिनेश पनि सहभागी भएर काठमाडौं पुगे । काठमाडौंमा रहेको हिमालयन हनीले वार्षिक एक टन मह खरिद गरिदिने आश्वासन दियो । संकलित मह बिक्री गर्न समस्या नुहने भयो तर मह खरिद गर्न रकम कसरी जुटाउने ? समस्या खडा भयो ।
एक हजारको शेयर
काठमाडौंबाट फर्केपछि सामुदायिक विकास केन्द्र नेपाल (सीसीडीएन) को आर्थिक सहयोग १० हजार, सहकारीको पाँच हजार र दिनेशले व्यक्तिगत एक हजार रुपैयाँ जम्मा गरेर मह किन्ने पैसाको जोहो गरियो । नुनसँग साटिने महले सुनकै भाउ पाउन थालेपछि मह संकलन केन्द्रमा दिनहुँ मह बेच्न आउने चेपाङको लर्को लाग्न थाल्यो । पैसा नपुगेपछि सीसीडीएनले ५० हजार रुपैयाँ घुम्तीकोषका नाममा उपलब्ध गरायो । त्यो रकमले त्यस वर्ष तीन टन मह संकलन भयो ।
वार्षिक एक टन मह खरिद गर्ने सम्झौता गरेको हिमालयन हनीले पहिलो वर्ष दुई टन मह खरिद ग¥यो । महले पैसा तान्न थालेपछि चेपाङ समुदायलाई मौरी पाल्न आग्रह गर्न थालियो । ‘सुरुमा त चेपाङलाई आधुनिक घारमा मौरी पाल्न सम्झाउनै गाह्रो भयो’ दिनेश भन्छन्, ‘एउटा घारलाई आठदेखि दस हजार रुपैयाँ पथ्र्यो । पैसाको अभावमा चेपाङले मौरी पाल्नै मानेनन् । अहिले ८४ जनाले पाँच हजार घार मौरी पालेका छन् । प्रतिकिलो दुई सय ५० रुपैयाँमा मह बेच्छन् । वर्षको १२ लाख रुपैयाँसम्म कमाएका छन् ।’
लोथरमा मह प्रशोधन केन्द्र
चेपाङ गाउँको मह भनेर भारतबाट आयातित मह बिक्री हुने गरेको थाहा पाएपछि दिनेशलाई गाउँ नजिकै अत्याधुनिक मह प्रशोधन केन्द्र स्थापना गर्ने सोच आयो । सेमीअटोमेटिक मेसिनकै ६५ लाख पर्ने भएपछि सहकारीले पनि प्रशोधन केन्द्र स्थापना गर्ने आँट गरेन । तर, महलाई मेसिनबाट प्रशोधन गरेपछि राम्रो भाउमा बिक्री गर्न सकिन्छ भन्ने बुझेका दिनेशले पुनः सीसीडीसीलाई गुहारेर ६५ लाखको मेसिन झिकाए ।
मेसिन संचालनका लागि विद्युत चाहिन्थ्यो । सिलिङे डाँडामा बिजुली नभएकोले पिप्लेमा एक कठ्ठा जग्गा खरिद गरेर टिनको झाप्रोमुनि स्थापना गरियो सहकारीकै नामबाट मह प्रशोधन केन्द्र । मह प्रशोधन केन्द्रमा मेसिन राखेको एक वर्ष भयो । दिनेश आफैले यो मेसिन चलाउँछन् । मेसिन राखेपछि उनले महिनामा १५ टन मह प्रशोधन गर्छन् । पहिले उनलाई एक टन मह हातले प्रशोधन गर्न १५ दिन लाग्थ्यो । मेसिनले उनको समय बचत गराएको छ ।
वार्षिक एक करोडको कारोबार
चेपाङ गाउँमा वार्षिक ७० टन मह उत्पादन हुने गरेको र त्यसमध्ये वार्षिक ४५ टन मह आफूले संकलन र प्रशोधनपछि बिक्री गर्दै आएको दिनेश बताउँछन् । उनीसँग अप्रशोधित ६ टन र प्रशोधित चार टन मह स्टकमा छ । प्रशोधन गरेको महमध्ये १० टन बिक्री भइसक्यो । उनले चेपाङ गाउँबाट संकलित मह प्रशोधनपछि पाँच सय रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका छन् ।
महसँगको बाह्रवर्षे संगतले दिनेशलाई उँभो लगाएको छ । उनकी श्रीमती पार्वती गुरुङले सुनाचुरी माध्यमिक विद्यालयमा पढाउँछिन् । तीन वटी छोरीमध्ये जेठी भारतको देहरादुनमा, माहिली र कान्छी लोथरमै बोर्डिङ स्कूलमा पढ्छन् । वार्षिक एक करोड रुपैयाँ बराबरको महको कारोबार हुने गरेको उनी बताउँछन् । सहकारीको नाम प्रयोग गरेवापत नाफाको २० प्रतिशत रकम दिनेशले सहकारीलाई बुझाउँछन् । महको संगतले मग्मगाएको छ दिनेशको जीवन ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
मंगलबार, ०५ चैत्र २०७५, ११ : ५८
लेखकबाट थप