बोइङ : इथियोपिया विमान दुर्घटनापछि ७३७ म्याक्स ८ जेटहरू ग्राउन्डेड गरियो

एजेन्सी

मंगलबार, २८ फागुन २०७५, १२ : १५
बोइङ : इथियोपिया विमान दुर्घटनापछि ७३७ म्याक्स ८ जेटहरू ग्राउन्डेड गरियो

बीबीसी । इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले 'बोइङ ७३७ म्याक्स ८ जेट' लाई उडानबाट हटाएका छन् ।

आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो ।
पाँच महिनाभित्र बोइङ ७३७ म्याक्स ८ मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो ।

चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई सो मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ ।

इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि सो मोडलका आफ्ना विमानहरू उडानबाट हटाएका छन् ।
इथियोपियामा विमान दुर्घटना हुनुको कारण अहिले नै भन्न नसकिने विज्ञहरूको धारणा छ ।

केही महिनाअघि इन्डोनेशियमा पनि सोही मोडलको विमान दुर्घटनामा परेको थियो ।

लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो ।
चीनको नागरिक उड्डयन प्रशासनले एउटा विज्ञप्तिमा दुवै दुर्घटना भर्खर सञ्चालनमा आएका 'बोइङ ७३७ म्याक्स ८' विमान उड्नासाथ भएकाले तिनमा केही समानता भएको टिप्पणी गरेको छ ।

बोइङ ७३७ म्याक्स ८

उसले ती विमानका सबै उडान स्थानीय समयानुसार साँझ ६ बजेभित्र स्थगित गर्न निर्देशन दिएको छ ।

सो निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स र अन्य कम्पनीहरू प्रभावित हुनेछन् ।

चीनमा सो मोडेलका कम्तीमा ९० वटा विमान सञ्चालनमा छन् ।
बोइङ ७३७ को इन्जिन बनाउने फ्रान्सेली एरोस्पेस समूह साफोँको शेयर मूल्य सोमवार घट्यो ।

सो विमान सन् २०१७ देखि मात्रै नियमित उडानमा प्रयोग हुन थालेको हो ।

बोइङले आइतवारको दुर्घटनाबाट आफूलाई दु:ख लागेको भन्दै अनुसन्धानका लागि प्राविधिक सहयोग गर्न टोली पठाउने जनाएको छ ।

इथियोपियाले बोइङ कम्पनी र अमेरिकाका विशेषज्ञहरूसँग समन्वय गरेर दुर्घटना अनुसन्धान गर्नेछ ।

भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल गरेको बताएको छ  ।

भारतमा जेट एअरवेज र स्पाइसजेटले 'बोइङ ७४७ म्याक्स ८' मोडलका विमान प्रयोग गर्छन् ।
तर उनीहरूले कुनै टिप्पणी गरेका छैनन् ।

अरू कसले प्रयोग गर्छन् ?
बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन् ।

टीयूआई ग्रूपसँग त्यस्ता १५ वटा विमान छन् । उसले उत्पादकसँग आफू सम्पर्कमा रहेको र ती विमान चलाउन नहुने कारण नदेखेको बताएको छ ।
फ्लाईदुबईका प्रवक्ताले परिस्थितिबारे विचार गरिरहेको समाचार संस्था रोएटर्सलाई बताएका छन् ।
नर्वेजियन एअरलाइन्ससँग १८ वटा त्यस्ता विमान छन् । तीमध्ये अधिकांशले आयरल्यान्ड र अमेरिकामा उडान गर्छन्। उसले ती विमान चलाउन छोडेको छैन ।

सो एअरलाइन्सका निर्देशकले बोइङ र उड्डयन निकायले जे भन्छन् त्यो मान्ने बताएका छन् ।
उनले भने, "हाम्रा यात्रुको सुरक्षा नै हाम्रो उच्च प्राथमिकता हो र हुन्छ ।"

सिल्कएअर, आरोलिनियस आर्जेन्टिनास र एअर इटालीसँग पनि त्यस्ता विमानहरू छन् । उत्तर अमेरिकाका वायुसेवाहरूले पनि ती विमान चलाउँछन् । साउथवेस्ट एअरलाइन्ससँग ३१ एवम् एअर क्यानडा र अमेरिकन एअरलाइन्ससँग २४-२४ वटा 'बोइङ ७३७ म्याक्स ८ जेट' छन् ।
 

प्रतिक्रिया दिनुहोस