गुल्मी । विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा आजदेखि माघे सङ्क्रान्ति मेला शुरु भएको छ ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा वर्षेनी तीन दिनसम्म भव्यरुपमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ ।
रुरु क्षेत्र विकास समितिको व्यवस्थापनमा सञ्चालन हुन गइरहेको उक्त मेलालाई थप व्यवस्थित बनाउन यस पटक कालीगण्डकीको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको छ ।
समितिको पहलमा पहिलो पटक रिडी क्षेत्र धाममा आउने तीर्थयात्रीलाई ऋषीकेश मन्दिर परिसरमा निःशुल्क भोजन गर्ने व्यवस्था समेत मिलाइएकोे रुरु क्षेत्र विकास विकास समितिका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।
मेलाको अवसरमा टाढाटाढाबाट व्यापार गर्न आउने व्यवसायीका लागि समितिले स्टल निर्माण गर्ने काम सम्पन्न गरिसकेको छ । विगतमा व्यवसायीलाई खाली जग्गालाई व्यवसाय सञ्चालनका लागि भाडामा उपलब्ध गराउँदै आएकोमा यस पटकदेखि समितिको पहलमा २०० स्टल निर्माण गरिएको हो ।
स्थानीय रुरु फ्रेण्डस क्लबले रिडीको खेल मैदानमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागेको छ । मेलामा बाल उद्यान, कृषि सामग्री प्रदर्शनी, स्थानीय खाद्य परिकारलगायत पहिलो पटक फोटो प्रदर्शनी राखिने भएको छ । स्थानीय युवाको पहलमा प्रदर्शनीमा रुरु क्षेत्रसँग सम्बन्धित पुराना र नयाँ तस्वीर प्रदर्शनीमा राखिने बताइएको छ ।
विशेष गरी जेठी, माइली र कान्छी सङ्क्रान्ति गरी तीन दिनसम्म सञ्चालन हुने माघे सङ्क्रान्तिको पहिलो दिन दिनभर कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । रुरु क्षेत्रअन्तर्गत रिडीस्थित कालीगण्डकी नदिमा स्नान गरेपछि श्रद्धालु कालीगण्डकी नदी नजिकै रहेको ऋषीकेश मन्दिरमा पुगी पूजाआजा गर्ने गर्दछन् ।
माघे सङ्क्रान्तिको दिनमा कालीगण्डकीमा गएर स्नान गरेपछि मानिसले अन्जानका गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । त्यसै विश्वासका आधारमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा ऋषी ऋण तिरिने धार्मिक मान्यताका कारण हजारौँ श्रद्धालु रिडी क्षेत्र धाममा आउने गर्दछन् । (रासस)
प्रतिक्रिया दिनुहोस