कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो

सोमबार, ०१ माघ २०७४, ११ : ५०
कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो

झापा । झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् ।

सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । माघ १ गतेदेखि सूर्यको उत्तरायण हुने हुँदा रात छोटा र दिन लामो हुँदै जान्छ । मकर सङ्क्रान्तिका दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुललगायत कन्दमूल खाने परम्परा रहेको छ ।

हिन्दू धर्ममा उल्लेख भएअनुसार मकर सङ्क्रान्तिको दिन नदी स्नानलाई उत्तम मानिन्छ । मकर सङ्क्रान्तिकोे दिन सूर्योदय हुनु पूर्वको नदीमा स्नान अझ उत्तम मानिने पण्डित सोमनाथ सुवेदीले बताए ।

यसैबीच, हरेक वर्षझैँ यस वर्ष पनि कनकाई नदी किनारमा मेला लागेको छ । माईमेलाको नामले प्रख्यात यस मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजन मेला भर्न आउने गरेका छन् ।

मेलामा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको छ । मेलामा ३०० बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यलय झिलझिले बताएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस