तनावलाई बिर्सेर आराम र शान्ति कसरी प्राप्त गर्ने ? प्रश्न त सजिलो सुनिइन्छ। तर, सबै चिन्ता छोडेर आराम हासिल गर्न उति सजिलो छैन। हामी एकैपटक टीभी, फेसबुक, ट्वीटर, ह्वाट्सएपजस्ता डिभाइस र एपमा व्यस्त हुने गर्छाैं। अहिलेको हाम्रो डिजिटल संसारमा आराम पाउनु झन्झन् मुश्किल हुँदै गइरहेको छ।
दुई वर्षअघि एउटा चोट लागेपछि केही समयका लागि मैले कसरत गर्न सकिनँ। त्यसबेला मैले यो कुरा महसुस गरेँ। कसरत गर्ने समय मेरो ‘आफ्नो समय’ थियो। कसरतबिना मलाई अशान्त अनुभूति हुन्छ। भर्खरैदेखि मैले फेरि कसरत सुरु गरेँ। तर, तनाव घटाउने उपाय एउटा मात्रै हुँदा बडो सीमित महसुस हुन्छ। अझ त्यसमाथि कसरत आराम र शान्ति पाउने उपाय हो कि होइन, त्यो पनि मलाई थाहा छैन। खासमा यो त कठिन परिश्रमको काम हो।
घरमा एक्लै हुँदा के गर्ने ? मलाई केही थाहा हुँदैन। कहिले मोबाइल, कम्प्युटर त कहिले टीभीको स्क्रिनमा घण्टौँ बिनाकाम अलमलिएर ओछ्यानमा पल्टेपछि चकित पर्छु, त्यत्रो समय कसरी बित्यो ?
यो साझा समस्या हो। कुन सेलिब्रिटी, कुन सर्वसाधारण, अधिकांश मानिस शान्ति र आरामको स्रोत खोजिरहेका छन्। एक पटक यसको सजिलो स्रोत रङ भर्ने पुस्तक बनेको थियो। त्यसैले सन् २०१० पछि त्यस्ता पुस्तकको लोकप्रियता बढेको थियो। त्यस्तै, गत वर्ष अध्यात्मसम्बन्धी पुस्तकको बिक्रीमा १३.३ प्रतिशत वृद्धि भएको थियो।
‘हेडस्पेस’नामक ध्यानसम्बन्धी एप पनि डेढ करोड पटक डाउनलोड भएको थियो। यस्ता चिजमा पैसा खर्च गरिरहेका हामी सबैजसो लगभग उस्तै प्रश्नका उत्तर खोजिरहेका छौँ। तर, यसबाट समाधान निस्किरहेको छैन। किनभने, रङ भर्ने किताबको बजार समाप्त भइसकेको छ। गत मे महिनामा फोब्र्सले यो व्यवसायलाई मृत घोषित गर्यो। हेडस्पेसले पनि गत वर्ष १३ कर्मचारी घटायो।
अफकमको एक रिपोर्टअनुसार बेलायतका अधिकांश मानिस डिजिटल डिभाइसमा निर्भर छन्। उनीहरूलाई इन्टरनेटसँग निरन्तर जोडिनुपर्ने आवश्यकता छ। ७८ प्रतिशत बेलायती स्मार्टफोन बोक्छन्। १६ देखि २४ वर्ष उमेर समूहमा त ९५ प्रतिशतसँग स्मार्टफोन छ। बेलायतीहरू जागै रहेको समयमा हरेक १२ मिनेटमा एक पटक फोन हेर्ने गर्छन्।
५४ प्रतिशतलाई लाग्छ, यस्ता डिभाइसले साथीभाइ तथा परिवारसँगको कुराकानी बिथोल्छ। ४३ प्रतिशत सोच्छन्, हामी अनावश्यक रूपमा अनलाइन समय बिताउँछौँ। १० मध्ये सात जनाले कहिल्यै पनि डिभाइस बन्द गर्दैनन्। हो, हामी यस्ता डिभाइसका साथ आराम र शान्ति पाउन सक्दैनौँ। तर, तिनलाई त्यागेर कसरी आराम पाउने, त्यो पनि हामीलाई थाहा छैन।
मनोचिकित्सक रेचल एन्ड्र्यु हरेक दिन यस्तो समस्या देख्ने गरेको बताउँछिन्। यो समस्या झन्झन् गम्भीर बन्दै गएको उनको ठम्याइ छ। ‘मानिसहरू डिभाइस बन्द गरेर आराम लिन सक्दैनन्,’ उनी भन्छिन्, ‘पछिल्लो पाँच वर्षमा यो समस्या अझ जटिल बन्दै गएको देखिन्छ। १२ देखि ७० वर्षसम्मकै मान्छे पीडित छन्।’ सबैको समस्या उही छः प्रविधि, फोन, कामसम्बन्धी इमेल, सामाजिक सञ्जाल।
डिजिटल डिभाइस चलाउनुपर्ने कारण हुन्छन्। तर, यसको प्रयोग व्यवस्थित हुनुपर्ने एन्ड्र्युको मत छ। ‘कतिपय अवस्थामा मानिसहरू आफूले खोजेको कुरामा ध्यान दिन सक्दैनन्,’ एन्ड्र्यु भन्छिन्, ‘उनीहरूलाई थाहा पनि हुँदैन, पछिल्लो आधा घण्टा कसरी बित्यो। यस अवधिमा तपाईंको दिमाग अत्यन्त थकित हुन्छ। त्यसैले यो तपाईंको नियन्त्रणमा रहँदैन। यसबाट कुनै पनि फाइदा छैन।’
मनोविश्लेषक डेविड मोर्गनको भनाइमा अनेक डिभाइसका स्क्रिनमा अलमलिएकै कारण हामीमध्ये धेरैले कसरी शान्ति तथा आराम लिने भन्ने बिर्सिसकेका छौँ। त्यस्तै हामी आफूसँग रमाउन पनि सक्दैनौँ। ‘स्क्रिन र त्यसको प्रयोग विकर्षणको तरिका बनेको छ,’ उनी भन्छन्, ‘मानिसहरू यस्ता विकर्षणका तरिका खोज्छन्। किनभने, एक साँझ एक्लै बिताउनुपर्यो भने उनीहरूलाई असह्य हुन्छ। यस्ता डिभाइस आफूलाई छोप्ने माध्यम बनेको छ। आफूलाई नियाल्न मान्छेको दिमागमा खाली ठाउँ हुनुपर्छ। आफूसँग निकट हुनुपर्छ। आफूसँगको निकटताबाट तर्किने तरिका भएको छ, विकर्षणका यी साधन।’
म कसरी समय बिताउन चाहन्छु ? एन्ड्र्युका अनुसार उनका कतिपय बिरामी यस्तो कहिल्यै सोच्न सक्दैनन्। ‘मान्छेहरू भन्छन्, उनीहरू ‘गर्नैपर्ने’ काममा साह्रै व्यस्त छन्,’ उनी भन्छिन्, ‘जागिर होस्, परिवारको हेरचाह होस् वा साथीहरूलाई दिइने समय होस्, उनीहरू जतिबेला पनि हतारमा हुन्छन्। अनि बल्ल कुनै साँझ अथवा सप्ताहान्तमा फुर्सद पाउँछन्। तर, त्यसबेला आफूले चाहेको काम गर्ने ऊर्जा र प्रेरणा रित्तिसकेको हुन्छ। यो समस्या हो। जतिबेला पनि ‘गर्नैपर्ने’ काम मात्र गरिरहने हो भने जीवन कसरी रमाइलो र सन्तोषजनक हुन्छ ?’
कतिपयका लागि त आफ्नो आवश्यकता र आकांक्षासँग निकट रहने विचार नै अपरिचित हुने एन्ड्र्यु बताउँछिन्। पारिवारिक वातावरणमा हुर्केका मानिसको जीवन प्रायः आमाबुबा वा दाजुभाइ–दिदीबहिनीको आवश्यकतावरिपरि घुमेको हुन्छ। कतिपयलाई उनीहरू के चाहन्छन् भनेर जीवनभर कहिल्यै सोधिएको हुँदैन। ‘यो विषयमा तिनले कहिल्यै नसोचेका हुन सक्छन्,’ उनी भन्छिन्। त्यस्ता व्यक्तिका लागि उनीहरू रमाउने, शान्ति तथा आराम प्राप्त गर्ने स्रोत फेला पार्नु र त्यसको खोजी गर्नु निकै ठूलो उपलब्धि हुन सक्छ। यसले उनीहरूको जीवन बदलिदिन सक्छ।
आफ्नो चाहना र आफ्ना वरिपरिका मान्छेको चाहना अलग–अलग हुन सक्छन्। तर, धेरैजसो मानिस यो फरक छुट्याउन सक्दैनन्। यसरी अरूको चाहनाबाट आफ्नो चाहनालाई अलग्याउन निकै मुश्किल हुने लाइफ क्लब्सकी संस्थापक निना ग्रनफेल्ड बताउँछिन्। यो संस्थाले मानिका आकांक्षा पूरा गर्न सघाउने उद्देश्य राखेको छ। तपाईंको आनन्द कहाँ टुंगिन्छ र तपाईंको पार्टनरको आनन्द कहाँबाट सुरु हुन्छ भन्ने पत्ता लगाउन निकै मेहनत पर्न सक्छ।
‘म र मेरा पति जवान हुँदा हामी छुट्टी मनाउन रोम गएका थियौँ,’ ग्रनफेल्ड भन्छिन्, ‘उनी हरेक चर्च, हरेक रेस्टुराँ जान चाहन्थे। घुमेर घर फर्किंदा म ताजा थिइनँ। थकित थिएँ। निकै पछि मात्र मैले आफूलाई चिनेँ। उनीबिनाको जीवनबारे मैले राम्रो सोचविचार गरेँ। तब मात्रै मेरा लागि छुट्टीमा रमाउन घुमघाम होइन, पढाइ र आरामको जरुरत छ भन्ने बुझेँ। आजभोलि हामी घुम्न जान्छौँ। उनी चर्च घुम्छन्। म चाहिँ समुद्री तट, पौडी पोखरी वा आगोअगाडि पल्टेर पढिरहन्छु। साह्रै आनन्द आउँछ। रेस्टुराँ चाहिँ हामी कहिलेकाहीँ साथमा जान्छौँ।’
ग्रनफेल्ड र एन्ड्र्युसँग कुराकानी गरेपछि र उनीहरूको सल्लाह सुनिसकेपछि आफूलाई ताजगी र आराम दिने विभिन्न तरिका कसरी पहिचान गर्ने भन्ने मलाई थाहा भयो। यसबाट ममा नयाँ आशा पलायो। केटाकेटी हुँदा म कसरी समय बिताउँथे भन्ने याद आयो। धेरैजसो समय म पढेर बिताउँथे। केही समय साथीहरूसँग बिताउँथे। अर्को वर्ष तिनै काम गर्ने वाचा मैले गरेँ। त्यसपछि मलाई थाहा भयो, स्क्रिनमा बिताउने साँझको समय मात्रै उपयोग गर्न सके मेरा लागि सुखद सुरुवात हुन सक्थ्यो।
यी सबै आदर्श लाग्ने काम म बेलाबखत गरिरहेकै हुन्छु। तैपनि, कहिलेकाहीँ यो संसार सहनै नसकिने बन्छ। स्क्रिनमा टाँस्सिएरै यो संसारबाटै बेपत्ता भइजाऊँजस्तो लाग्छ। मलाई थाहा छ, यसले मलाई नोक्सान पुर्याइरहेको छ। तर, म यस्तो भावना रोक्न सक्दिनँ। मनोविश्लेषणात्मक थेरापीले यसको कारण खोज्न मलाई सहयोग गर्यो। ‘थेरापी भनेको विकर्षणको ठीक उल्टो हो,’ मोगर्न भन्छन्, ‘यहाँ ध्यान संकेन्द्रण गर्नुपर्छ। मसँग परामर्श लिन आउँदा प्रायः मान्छेले भन्ने गर्छन्, यही ठाउँ हो, जहाँ पहिलो पटक समस्याबाट भाग्न सकिरहेको छैन।’
मैले के थाहा पाएको छु भने समस्याबाट नभागी तीसँग जुध्नु र सोचविचार गर्नु पनि भाग्नुजत्तिकै कठिन हुन्छ। यो साह्रै अप्ठ्यारो र दिक्कलाग्दो काम हो। तर, कोठामा आफ्नो कुरा सुन्ने र सही निर्णयका लागि सघाउने मान्छे हुँदा राहत पनि हुन्छ। ‘यस्ता अनेकौँ चिज छन्, जसले जीवनको सबैभन्दा महŒवपूर्ण तथ्यबाट हाम्रो ध्यान मोडिदिन्छ,’ मोर्गन भन्छन्, ‘त्यो तथ्य के हो भने, हामी बाँचिरहेका छौँ र एक दिन मर्छाैं। यी सबैबारे सोच्न सक्ने दिमाग, तपाईंबारे सोचिदिने अर्को मान्छे साथमा हुनु जरुरी छ। जीवनको यो त्रासद तथ्यलाई व्यवस्थापन गर्ने यो एउटा तरिका हो।’
यो त्रासद सत्यको अर्कोपट्टि एउटा वास्तविकता लुकेको हुन्छ। त्यो के हो भने यो पृथ्वीमा हामीसँग धेरै समय छैन। र, यति कम समयलाई पनि बेकार खेर फालेर दिमागी मृत्यु निम्त्याउनु साह्रै लज्जाजनक काम हो।
आराम र शान्ति खोज्ने तरिका
–परिवारसँग समय बिताउँदा हरेक व्यक्तिलाई एक घण्टाका लागि मुखिया तोक्ने। जसले सबैभन्दा बढी आनन्द र शान्ति दिने क्रियाकलाप छान्न पाउँछ। यसो गर्दा सबैले पालैपालो निर्णय गर्न पाउँछन् र अरूको कुरा सुन्ने अवसर पनि पाइन्छ। दिनभर एक्लैले निर्णय गर्नु नपर्दा पनि आराम प्राप्त हुन्छ।
–केटाकेटीमा सबैभन्दा बढी रमाइलो लाग्ने काम सम्झिनुहोस्। र, त्यसअनुरूपको कुनै वयस्क क्रियाकलाप गर्नुहोस्। ‘तपाईंलाई त्यस्तो क्रियाकलाप याद नरहन सक्छ,’ ग्रनफेल्ड भन्छिन्, ‘साथी, परिवारका सदस्यलाई सोध्नुहोस् वा पुराना फोटो एल्बम हेर्नुहोस्। तपाईंलाई केटाकेटीमा घर बनाउने खेल खूब मन पथ्र्यो भने अब तपाईं पाउरोटी बनाएर त्यसको आनन्द लिन सक्नुहुन्छ।’
–संसारलाई नयाँ तरिकाले हेर्नुहोस्। ‘वरिपरि हेर्नुहोस् र कुनै नयाँ चिज पत्ता लगाउनुहोस्,’ ग्रनफेल्ड भन्छिन्, ‘अपरिचित सडकमा हराउने प्रयास गर्नुहोस्। घुम्ती आएपछि आफैँलाई सोध्नुहोस्, दायाँ कि बायाँ ? त्यसपछि कहाँ पुगिन्छ, हेर्नुहोस्।’
–आराम र शान्तिको खोजी कहाँबाट गर्ने भन्ने तपाईंलाई थाहा छैन भने अनुसन्धानका निष्कर्ष हेर्नुहोस्। एन्ड्र्यु भन्छिन्, ‘प्रकृतिमा रमाउनु जहिले पनि आनन्ददायी हुन्छ भन्ने एकपछि अर्को अनुसन्धानले पुष्टि गरिरहेका छन्।’ सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस