अक्षयकोषका लागि प्रवासीद्वारा ४० लाख सहयोग

सोमबार, १३ फागुन २०७५, १४ : ४२
अक्षयकोषका लागि प्रवासीद्वारा ४० लाख सहयोग

म्याग्दी । जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् । 

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना गरेको कार्यक्रममा सो सहयोग जुटेको हो । मोना हङकङको २०आँै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ११ जनाले रु दुई लाख सहयोग गरेर संरक्षक सदस्यता लिएको अभियानका लागि हङकङ पुग्नुभएका कोषका सचिव लोक पुनमगरले जानकारी दिनुभयो । 

संरक्षक सदस्यता लिनेमा मोनाका संस्थापक प्रकाश पुन, मोना हङकङका वरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, निवर्तमान अध्यक्ष इन्द्र थापामगर, अध्यक्ष कर्ण पुन, कोषाध्यक्ष नारायणसिंह पुन, सचिव जेबेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा, ज्ञानेन्द्र थापा, पदम शेरचन, गोमा पुन, संरक्षक इञ्जिनीयर हर्कमान मगर र कार्यसमितिका सदस्य लील रोका रहनुभएको छ । 

सो कार्यक्रममा रु ३१ लाख ३५ हजार जुटेको थियो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले रु डेढ करोडदेखि रु दुई करोडको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट विपन्न म्याग्देलीलाई औषधोपचारका लागि सहयोग गरिने बताउनुभयो । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएका १०१ म्याग्देलीको उपचारका लागि रु एक करोड ८२ लाख सहयोग जुटाएको छ । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ की ओमकुमारी पुनको स्मृतिमा चार वर्षअघि कोष स्थापना गरिएको थियो । 

शान्तिको उपचारको क्रममा सञ्चालित अभियानबाट बचत भएको रु १३ लाख ७८ हजारबाट शुरु भएको कोषमा यसअघि स्वदेश तथा विदेशबाट रु ६२ लाख सङ्कलन भएको छ । मुटु, मिर्गाैला, क्यान्सरलगायत जटिल रोगबाट थलिएका म्याग्देलीलाई सघाउन रु डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग सङ्कलन अभियान सञ्चालन गरिँदै आएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस