बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, १४ : ५१
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

ललितपुर । नेपाल भ्रमणमा रहनुभएका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल भएको थियो । 
अध्यक्ष प्रचण्डले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा राज्यमन्त्री ल्याङकेष्टरसँग जिज्ञासा राख्नुभएको थियो । त्यसैगरी अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । अध्यक्षले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको हुँदा वैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न वर्तमान स्थायी सरकार लागि परेको पनि बताउनुभयो ।
चार दिवसीय नेपाल भ्रमणमा रहनुभएका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । राज्यमन्त्रीले गोर्खा सैनिकहरुले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया विश्वका लागि एक उदाहरणको रुपमा रहेको धारणा पनि व्यक्त गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस