मध्य भोटेकोसी जलविद्युत २ वर्षभित्र सक्न निर्देशन

आइतबार, ३० पुस २०७४, १३ : १८
मध्य भोटेकोसी जलविद्युत २ वर्षभित्र सक्न निर्देशन

सिन्धुपाल्चोक  । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको काम २ वर्षभित्र सक्न निर्देशन दिएका छन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुनेगरी एकीकृत समय तालिका तयार पारेर सोही अनुसार काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए ।

सन् २०१७ जुनमा निर्माण सक्नेगरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै पूरा भएको छ। जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु र ठेकेदारले अपेक्षाकृत रुपमा काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो । आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ। निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए। ‘निर्माण कार्यलाई गति दिन जलशक्ति बढाउनुपर्ने देखिन्छ। ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिँदै आएका छौं,’ उनले भने, ‘सम्झौताअनुसार काम गरिनुपर्छ, कुनै पनि हालतमा आयोजना ढिला हुनुहुँदैन ।’

आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७ दशमलब १ किलोमिटर मुख्य सुरुङमध्ये करिब ३ किलोमिटर खनिएको छ। विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।

कार्यकारी निर्देशक घिसिङले पनि आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहे पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । ‘आयोजनाको ४ वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्छ,’ उनले निर्देशन दिँदै भने, ‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तर रुपमा अगाडि बढाउनुहोस्, अब आयोजना ढिलाइ गर्नेलाई छुट दिन सकिँदैन ।’

१२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ। चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोका चार इन्भेस्टमेन्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी छ ।

आयोजनावाट वार्षिक रुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाले विद्युत बिक्रीबाट वार्षिक रुपमा २ अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस