आज ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस

२००७ सालदेखि ६३ सम्मको आन्दोलन नै आजको उपलव्धि

सफल खबर संवाददाता

मंगलबार, ०७ फागुन २०७५, १० : ०७
२००७ सालदेखि ६३ सम्मको आन्दोलन नै आजको उपलव्धि

चितवन । चितवनमा पनि आज ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस मूल जिल्ला मूल समारोह समिति चितवनले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । 
दिवसको उपलक्ष्यमा भरतपुर १० चौबीसकोठीबाट निस्केको ¥याली नगरको परिक्रमा गरी जिल्ला समन्वय समिति चितवनको कार्यालयमा आई सभामा परिणत भएको थियो । सभाका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले २००७ सालदेखि ६३ सालसम्म भएका विभिन्न खालका जनआन्दोलनले नै आजको यो उपलव्धि दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘७ साल, ३६ साल, ४६ साल र १० बर्षे ऐतिहासिक जनयूद्ध र ०६२ र ०६३ को जनआन्दोलनका बलले नेपालमा यूगान्तकारी राजनीतिक परिबर्तन प्राप्त भएको हो ।’
महानगर प्रमुख दाहालले शहिदहरूको बलिदानी पूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा र आर्थिक सामाजिक रूपान्त्ररणमार्फत देश बिकास गर्दै अगाडि बढ्नु नै प्रजातन्त्र दिबस मनाउनुको सार्थकता हुने बताउनुभयो ।

प्रमुख दाहालले प्रजातन्त्रलाई संस्थागत गर्दै बिकास र रोजगार सुशासन र सामाजिक बिकासमार्फत समृद्धिको बाटोमा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सम्पूर्ण परिबर्तनको आन्दोलनमा वीरगति प्राप्त गरेका महान शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शहीदले देखाएको बाटो पूरा गर्न आफू सधैँ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिका योजनाबद्ध र दिगो विकासको खाकासहित अगाडि बढिरहेको बताउँदै सुशासन कायम गर्दै आर्थिक सामाजिक रूपान्तरण भरतपुर महानगरपालिकाको एकमात्र उद्देश्य रहेको बताउनुभयो । 
कार्यक्रममा नेकपाका नेता तेजेन्द्र खड्काले जहाँनीय राणा शासनको अन्त्य गरी सुरू भएको नेपाली प्रजातान्त्रिक यात्रा ६९ वर्ष पूरा गरेको स्मरण गर्दै शहीदहरूले देखाएको बाटोमा अगाडि बढ्नु अपरिहार्य रहेको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ७ सालबाट सुरू भएको प्रजातान्त्रिक आन्दोलन गणतन्त्रको स्थापनासम्म आइपुगेको बताउँदै अब आर्थिक सामाजिक रूपान्त्रणमार्फत समृद्धिको यात्रामा अबका दिनहरू केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले कार्यक्रमको बारेमा प्रस्ट पार्दै ५०१ सदस्यीय मूल समारोह गरी सप्ताहब्यापी कार्यक्रमहरू गरी प्रजातन्त्र दिबस मनाइरहेको बताउनुभयो ।

 
 

प्रतिक्रिया दिनुहोस