सरकारको एक वर्ष

सरकारले यी चार विषयमा विश्वसनीयता गुमायो : नेपाली कांग्रेस

सफल खबर संवाददाता

आइतबार, ०५ फागुन २०७५, १७ : १२
सरकारले यी चार विषयमा विश्वसनीयता गुमायो : नेपाली कांग्रेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष पूरा भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरकारको एक वर्षको समीक्षा गर्दै नागरिकको विश्वास गुमाएको जनाएको छ । 
कांग्रेसले आज पत्रकार सम्मेलन गरेर सरकारले जिम्मेवारी पूरा नगरेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले पाँच वडा विषयमा विश्वसनीय गमाएको बताए । 
विषय नं १ : संविधान संशोधनको फाइल खोलिएन 
सरकारले संविधान संशोधनको फाइल नखोलेको प्रवक्ता शर्माले बताए । ‘संविधान संशोधन गर्छु भन्ने सरकार एक वर्ष सम्म फाइल नै खोलेन’ पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने । 
विषय नं २ : निर्मला हत्याको दोषी पत्ता लागेन 
सरकारले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अझैसम्म पनि पक्राउ गर्न सकेको छैन । नेपाली कांग्रेसका प्रवक्ता शर्माले भने, ‘निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकिएन भनेर सरकार न बोलेको छ, न दोषी पत्ता लगाएको छ ?’ उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले के गर्न सक्छ ? भनी प्रश्न गरेका थिए । उनले सरकारले नागरिकको विश्वास गुमाउनुको दोस्रो विषय निर्मला हत्या प्रकरण रहेको बताए । 
विषय नं ३ : डा गोविन्द केसीको सम्झौता तोड्नु 
नेपाली कांग्रेसले सरकारले नागरिकको विश्वास गुमाउनुको तेस्रो विषय डा गोविन्द केसीको सम्झौता तोड्नुलाई मानेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘डा गोविन्द केसी निजी स्वार्थको लागि अनसन बसेका हुन्, उहाँको सम्पूर्ण माग पूरा नगरी सरकारले नागरिकको विश्वास गुमाएको छ । 
विषय नं ४ : बूढीगण्डकी विदेशीलाई सुम्पनु
आफ्नै लगानीमा बनाउने भनिएको बूढीगण्डकी जलविद्युत् आयोजना सुटुक्क विदेशीलाई सुम्पदा सरकारले नागरिकको विश्वास गुमाएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको ठहर छ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘आफ्नै लगानीमा बनाउने भन्दै विदेशी कम्पनीलाई बूढीगण्डकी सुम्पने सरकारले नागरिकको मन जित्न सक्दैन ।’
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपलब्धि सार्वजनिक गरेपछि आज कांग्रेसले पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
कांग्रेस प्रवक्ता शर्माले सरकार संघीयतालाई कमजोर पार्न नियतवश नै लागेको आरोप लगाए । ‘सरकारले नियतवश संघीयतालाई कमजोर बनाउने कार्य गरिरहेको छ’ उनले भने, ‘शक्तिलाई केन्द्रिकृत गरेर प्रधानमन्त्री कार्यालयमा राख्ने कार्य भयो, कर्मचारी समायोजन पूरा गर्ने, प्रदेश सरकारलाई शक्तिशाली बनाउने काममा चुकिरहेको छ । प्रदेश सरकारलाई सिडिओ कार्यालयको छायाँजस्तो बनाउन खोजियो ।’

प्रतिक्रिया दिनुहोस