देवघाटधाम । माघेसंक्रान्तिको दिन पवित्र तीर्थस्थल देवघाटधामको वेणी स्नानका लागि आउने भक्तजनको भीड र देवघाट मेलालाई व्यवस्थित बनाइने भएको छ ।
देवघाट क्षेत्र विकास समिति तनहुँले शनिबार देवघाटधाममा पत्रकार सम्मेलनको आयोजना गरी मेलालाई व्यवस्थित बनाउन लागिएको जानकारी दिएको हो । समितिका अध्यक्ष टंकनाथ पौडेलले देवघाटधाम तीर्थस्थलमा धुमपान, मांस, मदिरा एवम् सुर्ती ओसारपसार र सेवन निषेध गरिएको बताए ।
देवघाटधाममा त्रिशुली नदीमाथि रहेको झोलुङ्गे पुल मर्मत कार्य सम्पन्न गरिएको जानकारी दिँदै अध्यक्ष पौडेलले भने, ‘झोलुङ्गे पुल जीर्ण भइसकेकोले पुलमा हिँड्दा भक्तजनहरुलाई नरोकिइकन पंक्तिवद्धरुपमा हिँडुन अनुरोध गर्नेछौँ । पुलको विकल्पमा वेणी पुग्न प्रशस्त मात्रामा डुङ्गाको व्यवस्था गरिएको छ ।’
देवघाट मेलामा आउने भक्तजन नठगिऊन् भनेर समितिले डुङुगाभाडा एकातर्फी २५ रुपैयाँ तोकेको छ । यसैगरी समितिले सवारी पार्किङको दररेट, चिया, कफी र पानीको समेत दररेट तोकेको छ । सवारी व्यवस्थापनको लागि वानवे रुट निर्धारण गरिएको समितिले जनाएको छ ।
मेला सम्पन्न गर्न समितिका अध्यक्ष पौडेलको संयोजकत्वमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ । माघेसंक्रान्तिकै अवसरमा देवघाटधामस्थित गलेश्वर आश्रमको आयोजनामा आइतबार सन्त सम्मेलन र लक्ष्य हवनको शुभारम्भ गरिने भएको छ ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले माघेसंक्रान्तिलाई मध्यनजर गर्दै शनिबारदेखि मंगलबारसम्म नारायणगढ मुग्लिन सडकखण्डमा यातायात आवागमन नरोकिने जनाएको छ । यसअघि यो सडकखण्डमा पुनर्निर्माण कार्य प्रभावकारी बनाउन राति दसदेखि बिहान चार बजेसम्म यातायात आवागमन बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस